काठमाडौं । नेपाली कांग्रेसले यस वर्षको चाडपर्व बिशेष चियापान भोलि शनिबारलाई राखेको छ। चियापानमा यस पालि १० हजारजनालाई निम्ता कार्ड बाँडिएको पार्टीले जनाएको छ ।
चियापानमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । त्यस्तै कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ ।
“चियानमार्फत शुभकामना आदानप्रदानले राजनीतिक तिक्ततालाई सद्भावमा बदल्ने र सामाजिक विसंगतिलाई कम गर्न मद्दत पुग्ने अपेक्षा गरेका छौँ,” कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, “हामीले सद्भावको संस्कृतिलाई निरन्तरता दिएका हौँ ।”
बीपी कोइरालाले ०३४ सालमा कोजाग्रत पूर्णिमाका दिन सुरु गरेको चियापानलाई विशेष अवस्थामा बाहेक हरेक वर्ष निरन्तरता दिइएको छ ।
०३३ साल पुस १६ गते बीपी ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएका थिए । त्यति बेला राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएका थिए । बीपीले राजनीतिक दलका नेताहरू र सर्वसाधारणले एकसाथ भेट्न मिल्ने गरी कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्न सुरु गरेका थिए ।
त्यसयता कांग्रेसले कोजाग्रत पूर्णिमाकै दिन संस्कृतिका रूपमा चियापान आयोजना गर्दै आएको छ । काङ्ग्रेस सगै पछिल्लो समय अन्य राजनीतिक दलहरुले पनि चियापान कार्यक्रम राख्ने गरेका छन्। एमालेले यो वर्ष कात्तिक १४ गते चियापान कार्यक्रम राखेको छ।