सरकारले नै मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका लागि प्रदर्शन गर्न बल्खु क्षेत्रलाई तोकिदिएको छ ।
प्रसाईं र युवासंघ दुवैले माइतीघरलाई केन्द्र बनाएर प्रदर्शन गर्ने घोषणा गरेपछि सम्भावित झडपको स्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न भनेको हो ।
प्रसाईंले ७ मंसिरमा राजधानी केन्द्रति प्रदर्शनको घोषणा गरेका छन् । यसअघि सोही दिन घोषित एमाले युवा संघको प्रदर्शनका लागि सोमबार स्थानीय प्रशासनले तिनकुने तोकिदिएको थियो ।
यसअघि सोमबार प्रशासनले दुवै समूहका प्रतिनिधिलाई बोलाएर छलफल समेत गरेको थियो । यस्तै बानेश्वरदेखि माइतीघरसम्मको क्षेत्रमा एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।