काठमाडौं । अब कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी सार्वजनिक गर्न नपाइने भएको छ ।
यो कसुर गरेको पाइएमा तीन लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था अन्तर्गत यस्तो प्रावधान प्रस्ताव गरिएको हो ।
जसअनुसार आपसी संवाद यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन पाइने छैन ।विधेयकको दफा ८९ को उपदफा १ मा लेखिएको छ, “कसैले पनि कानून बमोजिम बाहेक विद्युतीय माध्यमबाट कसैको वैयक्तिक विवरण वा सूचना, जानकारी, पत्राचार अनधिकृत रूपमा प्राप्त गर्न, त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रूपमा कसैलाई उपलब्ध गराउन हुँदैन ।”
दफा ८९ को उपदफा (२) मा कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिचमा विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सम्बन्धित व्यक्तिहरूले उजुरी दिएको वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन हुँदैन भनिएको छ ।
तर यो नियम सार्वजनिक रूपमा गरिएको भाषण वा वक्तव्यको हकमा भने लागु हुने छैन ।