धनुषा प्रहरीले आरती साहकी सासु रेनु साहलाई जनकपुरको भानु चोकबाट पक्राउ गरिएको छ । उनीमाथि कर्तब्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान गरिने धनुषा प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले बताए ।
छोरीको न्यायको लागि काठमाडौँमा धर्ना दिदै आएका आरतीका माइती पक्ष र सरकारबीच फागुन २९ गते ५ बुँदे सहमति भएको थियो । जसमा अदालतमा विचाराधिन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरु कानुन बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने लगायतका सहमति भएका थिए ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहको गत जेठ ७ गते रहस्यमय मृत्यु भयो । आरतीको मृत्यु नभई हत्या गरिएको भन्दै आरतीको माइती पक्षले निरन्तर आन्देलन गर्दै आएका छन् । काठमाडौँमा धर्ना बसेको २७१ औँ दिनमा गृहमन्त्री रवि लामिछानेको पहलमा वार्ता भएको थियो । आरतीका माइतीले आरतीकै श्रीमान मोतीबाबु साह, ससुरा मदनमोहन साह तथा सासु रेनु साहकै संलग्नतामा आरतीको हत्या भएको माइतीको दावी गर्दै जाहेर दिएर धर्नामा बसेका थिए ।