हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित

Facebook
Twitter
WhatsApp

२३ असार, हेटौंडा । बागमती प्रदेशको सदरमुकाम हेटौंडाको बजार क्षेत्र डुबानमा परेसँगै १४१ घरधुरी प्रभावित भएका छन् । हेटौंडा उपमहानगरपालिका–१, ५ र ७ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् ।

शुक्रबार रातिदेखिको वर्षाले राप्ती खोलासँग जोडिएको १ नम्बर वडाको चौकीटोल, ५ नम्बर वडाको पिप्ले र शान्तिनगर क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

५ नम्बर वडाका पिप्ले र शान्तिनगरका ३० भन्दा बढी घरहरु डुबानमा परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयको सहयोगमा डुबानमा परेका घरबाट मानिसको उद्धार गरिएको थियो ।

हेटौंडाको बजार क्षेत्रमा मात्रै डुबानबाट प्रभावित घरधुरी संख्या १ सय ४१ रहेको प्रहरीले जानकारी दिएको छ । हेटौंडा–५ सिंचाइकुना टोलमा २० घर, ५ नम्बर वडाकै लटिनाथ पल्टिङ क्षेत्रमा १५ घर, ५ नम्बर वडाकै लक्ष्मीनारायण मन्दिर आसपास १७ घर, शान्तिनगर टोलमा १३ घर, सानोपोखरामा ३० घर, दक्षिणकाली टोलमा १५ घर, ढुंगेधारा टोलमा ३० घर र हेटौंडा–७ न्युरेनीमा १ घर गरी जम्मा १ सय ४१ घरधुरी प्रभावित भएको प्रहरीले जानकारी दिएको हो ।

हेटौंडा उपमहानगरपालिकाले व्यवस्थित ढल निर्माण नगरेकाले ५ नम्बर वडाको पिप्ले क्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको छ । ५ नम्बर वडाको कर्रा खोला क्षेत्रसँग जोडिएको बस्ती निरन्तर वर्षा भएपछि रातभर जाग्राम बस्ने गरेका छन् । कर्रा खोला उर्लिएर आउँदा ५ नम्बर वडाको क्याम्पाडाँडादेखि ४ नम्बर वडाको कर्रा बस्तीसम्म खतरा हुने गर्दछ ।

हेटौंडाका कार्यवाहाक नगर प्रमुख राजेश बानियाँले डुबान क्षेत्रको निरीक्षण गर्दै नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा डुबानमा परेका स्थानीयहरुलाई उद्दार गरिएको बताए । हरेक वर्ष उक्त क्षेत्र डुबानमा पर्ने भएकाले दीर्घकालीन सोचका साथ उपमहानगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीबाट डीपीआर बनाएरै दीर्घकालीन समस्या समाधान गरिने बानियाँले जानकारी दिए ।

वर्षाका कारण मकवानपुरको कुखरेनी, कर्रा, राप्ती, मनहरी, लोथर, सामरी, भैंसे खोलामा पानीको बहाव बढेको छ । बाढीका कारण खेतीयोग्य जमिन कटानमा परेका छन् । भैंसे खोलाले विगतका वर्षमा त्रिभुवन राजपथको सडक क्षेत्र कटान गरेको थियो । सामरी, राप्ती, कर्रा, मनहरी खोलाले हरेक वर्ष खेतीयोग्य जमिन कटान गर्ने गरेको छ ।

यसैगरी मकवानपुरगढी गाउँपालिका–२ कृषिडाँडास्थित सन्तबहादुर घलानको गोठ भासिएको छ । चार वटा गाईहरु गोठभित्रै फसेकोमा प्रहरी र स्थानीयले २ वटा गाई सकुशल बाहिर निकालेका छन् । २ वटा गाई भने गोठभित्रै बिरामी अवस्थामा रहेको डिएसपी भण्डारीले जानकारी दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top