काठमाडौं । राजधानीको सामाखुसीमा अबस्थित नवोदित कलेज र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबीच कलाकारको परिवारलाई अध्ययनमा विशेष छुट सहमति भएको छ ।
आर्थिक अवस्था कमजोर भएका कलाकारको परिवारलाई नवोदित कलेजमा अध्ययन गराएमा ५० प्रतिशत छुट दिने विषयमा दुबै पक्षबीच सहमति भएको हो ।
नवोदित कलेजका तर्फबाट प्रिन्सिपल राजेन्द्र अधिकारी र प्रतिष्ठानको अध्यक्ष रिता थापा बीच सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।
सहमति पत्र तत्काल लागू हुने गरी कक्षा ११ र १२ मा अध्ययन गर्न आउने कलाकार, वाद्यवादक र प्राविधिकका परिवारलाई कलेजले ५० प्रतिशत छुट दिनुका साथै १० जनालाई निःशुल्क भर्ना दिने समेत व्यवस्था गरेको हो ।
नवोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले कलाकारितामा लागेको तर आर्थिक अवस्था कमजोर भइ छोराछोरीलाई अध्ययन गराउन नपाएका अभिभावकहरुलाई भर्ना र मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरि शिक्षाबाट बञ्चित नगराउन अनुरोध गरे ।
कलेजमा व्यवस्थापन, मानविकी, विज्ञान, कानून विषयमा अध्ययन गर्न चाहने कलाकारहरुको परिवारले प्रतिष्ठानको सिफारिसका आधारमा छुट दिने प्रिन्सिपल अधिकारीले बताए ।
त्यसैगरी प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले नवोदित कलेजले कलाकारको लागि सकारात्मक सोचिदिएकोमा हार्दिक आभार प्रकट गर्दै भनिन्– ‘कलाकारका छोराछोरीलाई नवोदित कलेजमा अध्ययन गर्न विशेष छुट दिने व्यवस्थाले अप्ठ्यारो अवस्थामा रहनुभएका कलाकारहरुलाई सहयोग पुग्नेछ ।’ अध्यक्ष थापाले प्रतिष्ठानको जिल्ला, प्रदेश समन्वय र केन्द्रका सदस्यहरुको परिवारले केन्द्रका पदाधिकारीहरुसँग समन्वय गरी उच्च शिक्षाका लागि नवोदित कलेजमा भर्ना हुन अनुरोध समेत गरिन् ।
नवोदित कलेजमा अध्ययन गर्न र गराउन चाहने कलाकारहरु प्रतिष्ठानको जिल्ला, प्रदेश, समन्वय र केन्द्रको सदस्य एवं केन्द्रको पदाधिकारीको सिफारिस लिएर आएमा भर्ना र मासिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्नेछ भने १० जनासम्मलाई भर्ना निःशुल्क गर्ने गरी कलेज र प्रतिष्ठानबीच सहमति भएको छ ।