भुटानी शरणार्थी प्रकरणमा फरार बिचौलिया बेचन झा र बादलका छोरा प्रतिक थापालाई पक्राउ गर्ने प्रहरी नायब महानिरीक्षक मनोज केसीलाई सरूवा गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग जवाफ माग गरेको छ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा रास्वपाका सांसद हरि ढकाल र गणेश पराजुलीले डीआइजी केसीलाई दुई महिनामै सरूवा गरिएकोबारे गृहमन्त्रीले रोस्टमबाट जवाफ दिनुपर्ने बताएका हुन्।
गत बुधबारको गृहमन्त्री स्तरीय निर्णयबाट प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सालमा रहेका केसीलाई दुई महिना नबित्दै प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको थियो। केसीको स्थानमा डिआइजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ।
जुन विषयका कारण सरकार ढलेको भन्ने चर्चा चलेको थियो, त्यो पुष्टि भएको सांसद ढकालले बताए। ‘विश्वासको मत लिएको दुई दिनभित्रमा सरूवा गरियो। हामीले यो गठबन्धन कुन उद्धेश्यका साथ बनेको छ भन्ने जुन तर्क प्रस्तुत गरेका थियौं त्यही उद्धेश्यका लागि सरूवा गरियो,’ उनले भने।
सांसद ढकालले कांग्रेस सांसद विश्वप्रकाश शर्माले यसअघि इन्स्पेक्टर सरूवाको विषय उठाएजस्तै यसपालि डीआइजी सरूवाबारे बोल्न पनि चुनौती दिए।
‘सरकारलाई र गृहमन्त्रीलाई सोध्न चाहन्छु यो पुरस्कार हो कि दण्ड हो?,’ साम्सद गणेश पराजुलीले भने, ‘यही घटनाक्रमसँग जोडिएको कारण सरकार परिवर्तन भएको हल्लालाई विश्वास गरेका थिएनौं। तर सरकारको आफ्नो घटनाक्रमले यसलाई पुष्टि गरेको छ।’