धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णायार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्तावको पक्षमा ३६ मत परेको र यो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
आजको बैठकमा प्रदेशसभा ४५ सदस्य सहभागी रहेकोमा मुख्यमन्त्रीको प्रस्तावको पक्षमा ३६, विपक्षमा आठ र तटस्थमा एक मत परेको थियो । स्वतन्त्र सदस्य डा तारा जोशीले तटस्थमा मत दिएका थिए ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको प्रस्तावको पक्षमा र नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले विपक्षमा मत दिएको थियो ।
विपक्षी दल नेकपा (माओवादी केन्द्र) का छ सदस्य र राप्रपाका एक सदस्य आजको बैठकमा अनुपस्थित थिए ।