उद्धार गर्न चिठी पठाउँदा…

Facebook
Twitter
WhatsApp

म्याग्दी । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुग्नुभएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी परिन् ।

टाउको दुुखिरहने, शरीर गल्ने, खाना अरुचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने भएर दामोदरकुण्डकै धर्मशालामा अन्य दुईजना साथी र सहयोगीसँग बस्नुुभएकी गौचनको टोलीलाई नेपाली सेनाको हेलिकप्टरले भदौ ६ गते उद्धार गरेको थियो ।

“दामोदरकुण्डप्रतिको आस्थाका कारण नेपालसँगै भारतबाट धैरै तीर्थयात्री आउने यस स्थानमा सञ्चार र स्वास्थ्य सुविधाको अतिआवश्यकता महसुस भयो”, उनले भनिन्, “मोबाइल फोन सेवा विस्तार हुँदा समयमै उद्धार र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन सकेमा बिरामी तीर्थयात्रीले समयमा नै उपचार पाउने थिए ।”

प्रदेशसभा सदस्य गौचनको स्वास्थ्यमा सुधार भइरहेको छ । सञ्चार सुविधा अभावमा उद्धारका लागि चिठी लेखेर पठाउँदा ढिलाइ भएको उनले बताइन् । धार्मिक पर्यटनका हिसाबले प्रशस्त सम्भावना भए पनि भौगोलिक विकटताका कारण दामोदरकुण्डमा राज्यको नजर पर्न नसकेको गौचनको भनाइ छ ।

दामोदरकुण्डको समस्या र आवश्यकताका विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई टेलिफोनबाट जानकारी गराएको प्रदेशसभा सदस्य गौचनले बताइन् । कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुुण्ड मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको–४ को भूगोलमा पर्छ । यहाँ स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुका रूपमा पुज्ने गर्दछन् । दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो ।

मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुुन्छ । पाँचवटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैतेदसैँका दिन भक्तजन बढी सङ्ख्यामा जान्छन् । भक्तजनले दुईवटा ठूला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।

कालीगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारीसाधनको यात्रापछि यारागाउँ पुग्न सकिन्छ । यारा गाउँबाट माथि झुमा ठाटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन याराबाट नै घोडाको यात्रा गर्दछन् ।

याराबाट करिब नौ घण्टा घोडाको यात्रापछि दामोदरकुण्ड पुग्न सकिन्छ । सडक यातायात, सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदरकुण्डको यात्रा जोखिमयुक्त र कठिन भएको काठमाडौँबाट आएका धनीकुमार सापकोटाले बताए । भक्तजनको सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ । असारदेखि साउनसम्म धर्मशालामा निःशुल्क भोजनको व्यवस्था मिलाइएको हुन्छ । कठिन यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःखकष्ट भुलाइदिने उनले बताए । “दामोदरकुण्ड साँच्चिकै स्वर्गको टुक्राजस्तो लाग्यो”, उहाँले भन्नुभयो, “धार्मिक र प्रकृतिको सुन्दर सङ्गमस्थलको अनुभूति भयो ।” दामोदरकुण्ड पुग्न र फर्किन प्रतिघोडा रु १० हजार खर्च लाग्ने हालै त्यहाँ गएर आएका बेनी नगरपालिका–३ का राम्जी सुवेदीले बताए । पाँच हजार पाँच सय मिटरभन्दा अग्ला दुई पहाड उकालो र ओरालो भिरको बाटो भएर दामोदर पास पार गरेपछि दामोदरकुण्डको समथर भूभागमा पुगिने उहाँले बताए । वरपरका सेता हिमचुचुराले घेरिएको दामोदरकुुण्डको उपत्यका सुन्दर र मनमोहक देखिने सुवेदीको भनाइ छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top