नुवाकोट । तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसी भैलो प्रतियोगिता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमती नदीको किनार समुन्द्रटारमा गाउँपालिकाभित्रका छ विद्यालय सहभागी गराई प्रतियोगिता आयोजना गरेको हो । विद्यालयले विद्यार्थीलाई नै देउसीभैलोको गीत सृजना गर्न लगाएर प्रस्तुति दिन लगाएका थिए ।
प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका–५ को महादेव माविका प्रमिता तामाङले नेतृत्व गरेको समूह प्रथम भई नगद रु २० हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगतामा दोस्रो भएको बच्छलादेवी माविले रु १५ हजार र तेस्रो भएको रूक्मणि माविले रु १० हजार नगद पुस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागी भएका अन्य तीन विद्यालय सरस्वती मावि, कल्याण मावि र दुप्चेश्वर माविले रु पाँच हजार सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा चर्चित कलाकार दामोदर खतिवडाको संयोजकत्वमा तीन सदस्यीय निर्णायकमण्डल गठन गरिएको थियो ।