काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकार कानूनभन्दा माथि नभएको बताएकी छिन् ।
सरकारले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिरहेको बताउँदै उनले सरकार कानून भन्दा माथि नरहेको र मनोमानी गर्न नपाउने बताएकी हुन् । रवि लामिछानेविरूद्व अहिलेसम्म पनि प्रमाण भेट्न नसकेको भन्दै उनले सरकारले प्रमाण नभेट्दा पनि प्रतिशोध साँधेरै थुनामा राखेको दावी गरेकी हुन् ।
उनले नागरिकको प्रदर्शनलाई दमन गर्न खोजिएकोमा पनि असन्तुष्टि व्यक्त गरिन् ।
उनले भनिन्, ‘हामी चुप लागेर बस्ने छैनौँ। यीनीहरूसँग विचार छैन साथीहरू। विचार त हिजो वीपी कोइरालासँग थियो, मदन भण्डारीहरूसँग थियो। यीनीहरू त केवल भ्रष्टाचारको रङ मात्रै छ, गन्ध मात्रै छ,’ गौतमले अघि भनिन्, ‘यदी विचार छ भने आऊ, हामीसँग विचारको तर्क गर, लडाईं गर। सडकमा उत्रिएका नागरिकलाई दमन गर्न प्रहरी प्रशासनलाई ठाडो निर्देशन नदेऊ। ‘अनुसन्धान नगर भनेको होइन, रवि लामिछानेमात्रै होइन भोलि केपी ओली, आरजु देउवा, शेरबहादुर देउवा र प्रचण्डमाथि पनि गर्नुपर्ला। कानुन सबैको लागि बराबर होला। तर, कसैलाई अनुसन्धान गर्ने नाममा प्रहरी प्रशासनले हिरासतभित्रै राखेर अनुसन्धान गर्न पनि कानुनसम्मत हुनुपर्छ । रवि लामिछानेलाई भित्रै राख्नुपर्ने सरकारसँग के त्यस्तो कारण छ ? प्रमाण छ ? हिरासतभित्रै राख्नका लागि पनि। कानुनमा त भागेर जान्छ, प्रमाण नष्ट गर्छ वा अपराधिक क्रियाकलाप गर्छ भने मात्रै त्यसलाई थुन्ने हो भनेको छ नि। तिमीहरू कानुनभन्दा माथि कसरी भयौ ? यसलाई हामीले अत्याचार नभन्नेरु यसलाई राजनीतिक षडयन्त्र नभन्ने ?’ ।