परिपक्क बन्दै गुल्शन झा

Facebook
Twitter
WhatsApp

परिपक्क बन्दै गुल्शन झा

२८ असार, काठमाडौं । क्रिकेटर गुल्शन झा सुरुमा राष्ट्रिय टिममा प्रवेश गर्दा फास्ट बलर थिए । जिम्बाव्वेमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा भने अलराउण्ड प्रदर्शन गरेर उनले आफ्नो बदलिएको परिचय देखाउने कोसिस गरे ।

वायाँहाते ब्याटर गुल्शन विश्वकप छनोटमा एक अर्धशतकसहित १३९ रन बनाएका थिए । उनले ६ खेल खेल्दा ५ खेलमा ब्याटिङ गरे । यस्तै उनले ८ विकेट लिए । ५ खेलमा समान एक विकेट लिएका उनले एक खेलमा ३ विकेट लिएका थिए ।

नेपालका लागि सर्वाधिक रन बनाउनेमा कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलभन्दा पछि चौथो स्थानमा रहेका उनी सर्वाधिक विकेट लिनेमा करण केसी -१२) भन्दा पछि थिए ।

पहिलो पटक विश्वकप छनोट खेलेका १७ वर्षीय गुल्शनले जिम्बाव्वेमा टेष्ट राष्ट्रहरुसँग खेल्दा धेरै अनुभव लिन पाएको र धेरै कुरा सिक्ने अवसर पाएको बताए । ‘विश्वकप छनोट एकदमै राम्रो अनुभव भयो । ठूला देशहरु वेष्ट इन्डिज, जिम्बाव्वे, आयरल्याण्डसँग खेल्न पायौं,’ गुल्शनले अनलाइनखबरसँग भने, ‘धेरै कुराहरु थाहा पायो र धेरै कुराहरु सिक्न पायौं । आफ्नो कमजोरी पनि थाहा भयो कहाँ काम गर्नुपर्छ भनेर ।’

जिम्बाव्वेमा अलराउण्डर प्रदर्शन गरे पनि गुल्शन यतिमै सन्तुष्ट छैनन् । उनले यसलाई सामान्य प्रदर्शन नै माने । ‘नर्मल भयो । यसमा अझै सुधार हुन सक्थ्यो । अझै योगदान गर्न सकिन्थ्यो । पछि सरहरुसँग पनि कुरा भयो कि कहाँ काम गरेपछि अझै राम्रो गर्न सकिन्छ भनेर ।’

साथै उनले आफूमा अझै सुधार गर्नुपर्ने कुराहरु रहेको पनि बताए । ‘मेरो सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । मैले लाइन र लेन्थ सुधार गर्नुपर्छ । स्पीड पनि अझ सुधार गर्नुपर्छ,’ ६ फिट उचाइका गुल्शनले भने, ‘बलिङमा विस्तारै सुधार भइरहेको छ । सिक्दै गइरहेको छु र राम्रो हुँदै गइराको छ ।’ उनले थपे, ‘यो लेभलमा जति धेरै म्याच खेल्यो उति नै धेरै सुधार हुँदै जान्छ । खेलिराख्न पायो भने अझ राम्रो हुन्छ ।’

सोमपाल कामी पहिलो खेलमै घाइते भएपछि गुल्शनको जिम्मेवारी पनि बढेको थियो । सोमपाल नहुँदा उनको कमी महसुस भएको गुल्शनले बताए । ‘सोमपाल दाइ राम्रो बलरका साथै अलराउण्डर पनि हुनुहुन्थ्यो । राम्रो ब्याटिङ पनि गर्नुहुन्थ्यो । दाइको कमी भयो,’ गुल्शनले भने, ‘सिक्दै जानुपर्छ । कुनै बेला एडजस्ट गर्नुपर्छ आफ्नो हातमा थिएन त्यो कुरा ।’

परिपक्क बन्दै

२०२१ सेप्टेम्बरमा अमेरिकाविरुद्ध लिग टुमा खेल्दै ओडिआईमा डेब्यु गरेका गुल्शनले यो दुई वर्षमा अझ परिपक्क बन्नै गएका छन् ।

गुल्शनले दुई वर्ष पनि नबित्दै चार फरक विदेशी प्रशिक्षकको अन्डरमा खेलिसकेका छन् । तर यसमा पनि उनलाई राष्ट्रिय टिममा ब्रेक दिने डेभ वाटमोर र परिपक्क बनाउन सहयोग गर्ने मोन्टी देसाईको भूमिका महत्वपूर्ण छ ।

उनले आफूलाई यसअघि लिग टु र एसीसी प्रिमियर कपमा पनि प्रमाणित गरिसकेका छन् । आवश्यक परेका बेला ब्याटबाटै योगदान दिएर नेपाललाई जिताएका समेत छन् । चाहे त्यो लिग टुको अन्तिम खेलमा युएई विरुद्धको अर्धशतक होस् या पि्रमियर कपको फाइनलमा पनि युएई विरुद्ध नै तेस्रो नम्बरमा ब्याटिङ गर्दै अर्धशतक बनाएर जिताउँदा होस् ।

पछिल्लो पटक जिम्बाव्वेमा आयरल्याण्डविरुद्ध पनि उनले आफूलाई प्रमाणित गरे । यस पटक पनि उनले अन्तिम खेलमै अर्धतशक प्रहार गरे ।

आयरल्याण्ड विरुद्ध नेपालले २६८ रन बनाउँदा गुल्शनले नवौँ नम्बरमा ब्याटिङ गर्दै अविजित ५७ रन योगदान गरे । त्यस खेलमा नेपालको लागि व्यक्तिगत धेरै रन बनाउने उनै थिए । साथै नवौँ नम्बरमा खेल्दै नेपालका लागि धेरै रन बनाउने कीर्तिमान पनि उनले बनाए ।

नेपाल १६९-७ को अवस्थामा हुँदा गुल्शन क्रिजमा गएका थिए । त्यसपछि उनले सन्दीप लामिछानेसँग मिलेर आठौं विकेटका लागि ८० रनको साझेदारी गरे ।

त्यस खेलमा के योजना थियो त ? गुल्शन भन्छन्, ‘हाम्रो विकेट गइरहेको थियो, रन बनिरहेको थिएन । म ब्याटिङमा जाँदा सरले एउटा टार्गेट दिनुभएको थियो- ५० ओभर खेल र २२० सम्म हेर भनेर । म त्यही सोचेर खेलिरहें । त्यसलाई फलो गरें । त्यसपछि आफैं रन बन्यो ।’

मोन्टी देसाईको आगमनपछि गुल्शनले राष्ट्रिय टिममा राम्रो अवसर पाएका छन् । मोन्टीको आगमनपछि नेपाली टिमको माहोल नै परिवर्तन भएको छ । गुल्शनमा पनि त्यो परिवर्तन भएको छ । ‘सर आउनुभएपछि ममा मात्र नभई टिमकै माहोल चेन्ज भाछ,’ उनी भन्छन्, ‘पहिलेको भन्दा अहिले धेरै कुरामा सुधार भइरहेको छ । मानसिक रुपमा पनि धेरै परिवर्तन भएको छ । स्किल पनि सुधार भएको छ ।’

टेष्ट राष्ट्रसँग खेल्दाको अनुभव

यस पटक जिम्बाव्वेमा नेपालले तीन राष्ट्रसँग ओडिआई म्याच खेल्ने अवसर पायो । जसले गर्दा अहिले नेपाली टिममा धेरै सकारात्मक परिवर्तन आएको छ । ठूला टिमसँग खेल्दाको अनुभव बटुलेको छ ।

विशेषगरी दुई पटकको ओडीआई र दुई पटकको टी-२० विश्वकप विजेता वेष्ट इन्डिजसँग खेल्न पाउनु नेपालका लागि राम्रो अनुभव रहृयो ।

‘वेष्ट इन्डिजसँग खेल्दा एकदमै उत्साहित थियौं । दुई पटक च्याम्पियन टिमसँग खेल्दा फरक अनुभव पायौं । खेलको नतिजा जस्तो भएपनि सिक्ने अवसर पायौं,’ गुल्शन भन्छन्, ‘ठूला टिमसँग खेलेपछि हामी कहाँ कमजोर छौं । के-के काम गर्ने भन्ने थाहा पायौं ।’

जिम्बाव्वेमा सिकेको कुरा अब श्रीलंकामा इमर्जिङ टिम्स कपमा प्रयोग गर्ने गुल्शनले बताए । ‘एसिया कपअघि श्रीलंका भ्रमण हाम्रो लागि एकदमै राम्रो अवसर हो । टेष्ट राष्ट्रको ए टिम पनि धेरै राम्रो नै हुन्छ,’ उनले भने, ‘आफ्नो क्षमता देखाउनका लागि यो राम्रो अवसर हुनेछ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top