राष्ट्र बैंकलाई कोरोनाकालमा झैँ उदार हुने सुविधा छैन

Facebook
Twitter
WhatsApp

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीति ल्याउने अन्तिम कसरतमा छ । अर्थतन्त्र शिथिल भएको वर्तमान परिप्रेक्ष्यमा आगामी मौद्रिक नीतिमाथि सर्वत्र चासो छ । मौद्रिक नीति खुकुलो कि कसिलो ल्याउनुपर्छ भन्ने विषयमा बहस भइरहेका छन् ।

बाह्य क्षेत्रमा सुधार आए पनि आन्तरिक अर्थतन्त्र दबाबमा भएको अवस्थामा कस्तो मौद्रिक ल्याउनुपर्ला ? सबैको अपेक्षा पूरा हुने गरी मौद्रिक नीति ल्याउन सम्भव छ ? यिनै जिज्ञासासहित समसामयिक आर्थिक गतिविधिका विषयमा केन्द्रित भएर नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवं नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानासँग नयाँ पत्रिकाका कृष्ण रिजाल र मिलन विश्वकर्माले गरेको कुराकानी :

  •  लचिलो र कसिलोभन्दा पनि मध्यमार्गी मौद्रिक
  • नीति ल्याउनुपर्छ
  •  घरजग्गा र सेयरको कर्जामा बैंकहरूलाई नै
  • खुला छाडिदिनुपर्छ
  •  पोलिसी रेट अझै १ प्रतिशतसम्म घट्न सक्छ ब्याजदर बजारले नै स्वतः घटाउँछ
  •  प्रतिफल आकर्षक नदेखिएकै कारण बैंकहरूको सेयरमूल्य कम देखिन्छ
  •  वित्तीय संस्थाविरुद्ध अराजक र उच्छृंखल गतिविधि बढेपछि गृहमन्त्रीलाई भेटेर सुरक्षा माग्यौँ
  •  बैंकिङ क्षेत्रको खुद नाफा होइन, वितरणयोग्य नाफा हेरेर मूल्यांकन गर्नुपर्छ

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीति ल्याउने अन्तिम तयारीमा जुटेको छ । अर्थतन्त्र शिथिल भएको अवस्थामा आउने आगामी मौद्रिक नीतिमाथि सर्वत्र चासो छ । निजी क्षेत्रले मात्रै होइन, स्वयं अर्थमन्त्रीले समेत मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने अभिव्यक्ति दिँदै आएका छन् । उहाँहरूका अपेक्षा सम्बोधन हुने सम्भावना र अवस्था के देख्नुहुन्छ ?
सीमित उद्देश्य र दायराभित्र रहेको राष्ट्र बैंकले सरोकारवाला तथा निजीलगायत सबै क्षेत्रको अपेक्षा पूर्ण रूपमा सम्बोधन गर्न सक्दैन । अहिले रेमिट्यान्स आप्रवाह बढ्ने र आयात घट्नेजस्ता कारण अर्थतन्त्रको बाह्य क्षेत्र सहज अवस्थामा आएको छ ।

पछिल्लो समय तरलता पनि बढ्दै गएको छ । तर, कर्जाको माग भने एकदमै कम छ । चालू आवको ११ महिनामा निक्षेप ८ प्रतिशत हारहारीमा बढेको छ भने कर्जा प्रवाहको वृद्धिदर ४ प्रतिशत पनि पुगेको छैन । अघिल्ला वर्षहरूमा निक्षेपभन्दा कर्जा प्रवाहको वृद्धिदर बढी हुन्थ्यो । तर, पछिल्लो समय देखिएको आर्थिक संकटले कर्जाको माग न्यून छ । भएकै उद्योगहरू कम क्षमतामा चलेका छन्, नयाँ उद्योग आउने अवस्था छैन ।

यस्तो अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आवको बजेटमा जुन वित्त नीति ल्याउनुपर्ने थियो, विशेष गरी बजारमा वस्तुको माग बढाउन, त्यो आएन । बजेटले नै विशेष राहत प्याकेज ल्याउनुपर्ने थियो, तर आएन । त्यसैलै पनि मौद्रिक नीतिमा बढी अपेक्षा गर्नु स्वाभाविक नै हो ।

अहिले मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाएर कर्जा लगानीमा सहजता प्रदान गर्न सके बजार चलायमान बनाउन सकिन्छ भन्ने छ । तर, मौद्रिक नीति लचिलो बनाइराख्दा विगतमा जस्तो कर्जा प्रवाह बढी भयो र महँगी बढ्यो भने के गर्ने ? सहज रूपमा कर्जा प्रवाह भयो भने त्यसको दुरुपयोग पनि हुन सक्छ । सहज रूपमा कर्जा प्रवाह गरेमा हिजोको जस्तै अनुत्पादक क्षेत्र, घर जग्गा, आयातमा पैसा जान्छ कि भन्ने डर राष्ट्र बैंकलाई पनि छ । त्यो अवस्थामा राष्ट्र बैंकले सबै क्षेत्रको सबै अपेक्षा सम्बोधन गर्ने अवस्था छैन । र, अपेक्षालाई उपेक्षा गरेर अघि बढ्ने परिस्थिति पनि छैन । त्यसैले लचिलो र कसिलोभन्दा पनि मध्यमार्गी मौद्रिक नीति ल्याउनुपर्छ ।

बाह्य क्षेत्र बलियो हुँदै गएको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बढ्दो छ । यसले थप रेमिट्यान्स बढ्ने सम्भावना देखाउँछ, जसले गर्दा बाह्य क्षेत्र अझै बलियो हुँदै जाने सम्भावना छ । यद्यपि, आन्तरिक अर्थतन्त्र समस्यामै छ । तसर्थ, बीचमै बसेर मौद्रिक नीति ल्याउँदा उपयुक्त हुन्छ ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिए पनि चुनौती भने कायमै छ । यो अवस्थामा सरोकारवालाको अपेक्षा कति सम्बोधन गर्न सकिएला ?
कोरोनाकालमा प्रभावित क्षेत्रलाई कोरोनाअघिकै अवस्थामा लैजाने उद्देश्यसहित धैरै सहुलियत दिइयो । त्यही कारण पनि अर्थतन्त्रको बाह्य क्षेत्र समस्याग्रस्त भयो जस्तो लाग्छ । तर, यसपालि राष्ट्र बैंक कोरोनाकालमा जस्तो उदार हुने अवस्था छैन, सायद हुँदैन पनि होला । बीचमै रहेर मौद्रिक नीति आउने सम्भावना छ । धेरै कसिलो बनायो भने पनि अर्थतन्त्र सुधारमा नजान सक्छ । लचिलो बनाउँदा थप समस्या आउन सक्छ । तसर्थ, बीचमै बसेर मौद्रिक नीति ल्याउनुपर्छ । तर, समस्याग्रस्त भएका क्षेत्रलाई भने केही न केही सुविधा तथा सहुलित दिनैपर्छ ।

मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउँछ भन्ने भाष्य सिर्जना भएको छ । अहिलेको संकट तुरुन्तै समाधान हुन्छ जसरी चर्चा पनि भइरहेको छ । मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाइहाल्न सक्ला र ? 
खासमा यो विषय राष्ट्र बैंकको दायराभित्र मात्रै पर्दैन । यद्यपि, नेपाली बजार सानो भएकाले राष्ट्र बैंकले गर्ने निर्णयले सेयरबजार, घरजग्गालगायतका क्षेत्रलाई प्रभाव पर्छ । कोभिडकालमा ल्याएका केही नीतिले ओभर फाइनान्सिङ भयो । अब चालू पुँजी कर्जासम्बन्धी नयाँ व्यवस्थाले केही नियन्त्रण गर्ला । अझै सहज रूपमा कर्जा दिने नीति आउनु हुँदैन । मौद्रिक नीतिको काम बजेटले लिएका नीति तथा लक्ष्यलाई सहयोग गर्ने पनि हो ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने र मूल्यवृद्धि दरलाई ६.५ प्रतिशतमा सीमित राख्ने भनेको छ । त्यसलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ । चालू वर्षमा ४ प्रतिशत कर्जा वृद्धि हुँदा जिडिपीको वृद्धिदर १.६८ प्रतिशत हुने अनुमान छ । त्यसअनुसार आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पूरा हुन कर्जा वृद्धिदर १२ प्रतिशत हाराहारी हुनुपर्छ । साथै, अप्ठ्यारोमा परेका क्षेत्रलाई सहुलियत दिने नीति ल्याउनुपर्छ । पर्यटन, ऊर्जा, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउनुपर्छ ।

अर्काे ठूलो सम्भावना भएको क्षेत्र शिक्षा र स्वास्थ्य हो । यसमार्फत ठूलो पैसा बाहिरिएको छ । त्यो पैसा रोक्न सक्यौँ भने मात्र पनि ठूलो प्रगति हुन्छ । यो क्षेत्रको विकास गर्न सकियो भने जिडिपीमा पनि ठूलो सहयोग पुग्छ । हाम्रो उत्पादन लागत बढी भएका कारण पनि हामीले सेवा क्षेत्रमा बढी ध्यान दिनुपर्छ । अर्थतन्त्रलाई चलायमान बनाउने सन्दर्भमा, देखिएका समस्या समाधान गर्ने सन्दर्भमा धेरै काम सरकारले नै गर्ने हो । राष्ट्र बैंकले कर्जा प्रवाहमा सहजता दिने, पुनर्तालिकीकरणमा सहयोग गर्ने हो । यी विषयलाई राष्ट्र बैंकले सम्बोधन गर्न सक्छ ।

राष्ट्र बैंकले आगमी मौद्रिक नीतिमार्फत कुन–कुन मौद्रिक उपकरण चलाउन सक्ने सम्भावना छ ? 
नीतिगत दर (पोलिसी रेट) ८ प्रतिशतबाट ७ प्रतिशतमा झरिसकेको अवस्था छ । बजारको अवस्थाअनुसार पोलिसी रेट अझै १ प्रतिशतसम्म घट्न सक्छ जस्तो लाग्छ । एसएलएफ, सिआरआर न्यूनतम बिन्दुमै छन्, त्यसमा चलाउन सक्ने ठाउँ छैन । योबाहेक अप्ठ्यारो परेको क्षेत्रका कर्जालाई लक्षित गरेर केही सहुलियत ल्याउन सकिन्छ । ब्याजदर बजारले नै स्वतः घटाइहाल्छ । अहिले सरकारी खर्च र रेमिट्यान्स आप्रवाह बढ्दा बैंकमा तरलता बढेको छ । तर, लगानी भएको छैन । आगामी आवदेखि भने कर्जा प्रवाह बढाउने गरी नीति आउन सक्छ ।

बैंकिङ कल्चर, सेवा, पोलिसी, प्रडक्ट र नाफाका आधारमा नबिल सधैँ नम्बर वान छ र हुनेछ । तर, नम्बर वान बन्ने होडमा सेवामा कुनै पनि सम्झौता गर्दैनौँ । हाम्रो पहिलो प्राथमिकता राम्रो र गुणस्तरीय सेवा दिने नै हो ।

घरजग्गा र सेयरबजारका लागि केही खुकुलो नीति ल्याउनुपर्ने माग आइरहेको छ । यद्यपि, यी क्षेत्रलाई कडाइ नै गर्नुपर्छ भन्ने समूह पनि छ । यसमा तपाईंको धारणा के हो ? 
नेपालको बैंकिङ इतिहास धेरै लामो भइसक्यो । नबिल बैंकले नै ३९ वर्ष पूरा गरेको छ । निजी क्षेत्रका बैंकले ठूलो अनुभव प्राप्त गरिसकेका छन् । थुप्रै बैंक मर्ज भएर बलियो बनेका छन् । त्यो अवस्थामा अब बैंकले नै कहाँ कर्जा लगानी गर्दा राम्रो हुन्छ या हुँदैन भनेर जोमिख मूल्यांकन गर्न सक्छन् । यसमा राष्ट्र बैंकले नै सीमा तोक्नु हुँदैन । आवश्यक जोखिम मूल्यांकन गरेर बैंकलाई नै जिम्मेवार बनाउँदा राम्रो हुन्छ ।

पुँजीबजार पनि अर्थतन्त्रको एउटा ठूलो सिम्बोल बनिसकेको छ । यसलाई पनि अर्थतन्त्रको मुख्य सूचकका रूपमा हेर्नुपर्छ । कम्पनीहरूलाई पुँजी जुटाउन सहज पनि भएको छ । पछिल्लो समय प्रिमियममा आइपिओ आउन थालेका छन् । तसर्थ, यसलाई नकारात्मक रूपमा हेर्नुहुँदैन । भारतमा सेयरबजार घट्यो भने सरकारलाई चिन्ता हुन्छ । नेपालमा भने सेयरबजार बढ्यो भने सरकारलाई टेन्सन हुन्छ । यस्तो सोचमा परिवर्तन आवश्यक छ ।

घर पनि मानिसको आधारभूत आवश्यकताभित्रै पर्छ । देशमा अझै धेरै मानिसको गुणस्तरीय आवास बनेको छैन । तसर्थ, घरकर्जामा कडाइ गर्नुहुँदैन भन्ने लाग्छ । त्यसमाथि यसले निर्माण क्षेत्र, सिमेन्ट, डन्डी, पाइपजस्ता उत्पादनमूलक उद्योगसँग प्रत्यक्ष सम्बन्ध राख्छ । यसर्थ, यसमा पनि खुकुलो नीति नै आवश्यक छ । तर, खुल्नैपर्छ भन्ने होइन । बैंकलाई नै जिम्मेवार बनाउँदा राम्रो हुन्छ ।

पछिल्लो समय बैंकमा पैसा थुप्रिएको छ, तर कर्जा प्रवाह भएको छैन । यसले बैंकको वित्तीय प्रतिवेदनमा कस्तो प्रभाव पार्दै छ ? 
अवश्य पनि बैंकमा तरलता बढ्यो भने त्यसको असर नाफासम्मै पर्छ । किनभने, निक्षेपको लागत बढिहाल्छ । एक महिना अघिसम्म बैंकमा तरलताको चाप थियो । तर, एक–डेढ महिनायता बढ्न थालेको छ । अहिलेको तरलतामा आधाजति त अल्पकालीन किसिमका छन्, जुन साउनको पहिलो–दोस्रो साताभित्रै बाहिरिन्छ । तपाईंले विगतलाई पनि हेर्नुभयो भने असारको डिपोजिट साउनमा घटेको देख्नुहुन्छ । भदौ–असोजमा गएपछि फेरि निक्षेप बढ्छ । यो त हाम्रो अर्थतन्त्रको प्रवृत्ति नै हो ।

असार महिनामा लगानी गर्नेभन्दा पनि लगानी उठाउनतिरै ध्यान दिन्छौँ । पाइपलाइनमा भएका कर्जा प्रवाह होला, तर ठूलो मात्रामा कर्जा प्रवाह हुँदैन । त्यसले गर्दा हाम्रो नाफामा फरक पार्दछ । यो साल त के अर्को साल नाफा अझ प्रभावित हुनेछ । राष्ट्र बैंकले स्प्रेडदर चार प्रतिशतमा झारेको छ, जुन साउनदेखि कार्यान्वयनमा आउनेछ । त्यसले स्वतः ब्याजदर घट्छ । स्प्रेडदर घटाउन हामीले कि त निक्षेपको ब्याज घटाउनुपर्छ, कि त कर्जाको बढाउनुपर्छ ।

अहिलेको अवस्थामा निक्षेपको ब्याज बढाउने सम्भावना छैन, त्यसैले कर्जाकै ब्याज घट्ने हो । मर्जरको सुविधा पाएका बैंकहरूले स्प्रेडदर १ प्रतिशत बढी राख्न सक्छन् । यस्तो सुविधा पाउनेबाहेक कुनै पनि बैंकले राम्रो प्रतिफल दिन सक्नेछैनन् । ४ प्रतिशतको स्प्रेडदरमा बैंकहरूलाई १० प्रतिशत प्रतिफल दिन पनि गाह्रो हुन्छ । यस विषयमा हामीले राष्ट्र बैंकलाई धेरै भन्यौँ, तर राष्ट्र बैंकका पनि आफ्नै दायराहरू होलान्, प्रेसहरू होलान् ।

एकपटक कार्यान्वयमा आइसकेको नीतिबाट फर्कन पनि गाह्रो हुन्छ । स्प्रेडदरमा निजी क्षेत्रको माग पनि अचम्मैको छ । स्प्रेडदरको व्यवस्था नहुँदा ५ प्रतिशत हुनुपर्छ भन्नुहुन्थ्यो, अहिले त्यसलाई २ प्रतिशतमा झार्न दबाब दिनुहुन्छ । त्योचाहिँ अस्वाभाविक माग होइन । सुरुमा स्प्रेडदरको व्यवस्था थिएन । युवराज खतिवडाले ५ प्रतिशत स्प्रेडदरको व्यवस्था गरिदिनुभयो । त्यसपछि चिरञ्जीवी नेपालले ४.४ प्रतिशतमा झारिदिनुभयो । अहिलेका गभर्नर महाप्रसाद अधिकारीले ४ बनाइदिनुभयो ।

हाम्रोजस्तो अर्थतन्त्रमा बैंकहरूको व्यवसाय अन्तर्राष्ट्रिय बैंकहरूको एउटा शाखाको जति पनि छैन । यति सानो मूल्यमा, चार प्रतिशत स्प्रेडदर छ, जहाँ हाम्रा सबै खर्च पनि समावेश छैन । सेयरबजारमा हेर्नुहोस् न, सानातिना होटेल, इन्स्योरेन्सहरूको तुलनामा बैंकिङ क्षेत्रको सेयर मूल्य न्यून छ । अरूभन्दा बलियो सेक्टर जम्मा एक–दुई सय रुपैयाँमा छ । किनभने, प्रतिफल देखिँदैन । त्यो हिसाबले बैंक क्षेत्रमा लगानीकर्ताको आकर्षण कम देखिएको छ ।

अब साउनदेखि ब्याजदर पनि महसुस हुने गरी घट्छ कि त ? 
ब्याजदर पक्कै घट्छ नै । अघि पनि भनेँ, स्प्रेडदर घट्नेबित्तिकै ब्याजदर पनि घट्छ । तरलता पनि बढ्दै गएको छ । व्यवसायीले पनि घटाउन दबाब दिइरहेका छन् । अब राष्ट्र बैंकले स्प्रेडदर तोक्नै पर्दैन, बजार आफैँले तोक्छ । राष्ट्र बैंकले आगामी वर्षदेखि ४ प्रतिशत स्पेडदर भनेको छ । मेरो व्यक्तिगत आकलनमा आगामी वर्ष ३ देखि ३.३ प्रतिशतसम्म स्प्रेडदर बस्छ । बजारले आफैँ घटाउँछ । यस्ता कुराहरूमा बजार परिपक्व हुँदै गएपछि राष्ट्र बैंंकले पनि छोड्दै गए हुन्छ ।
बजारले ब्याजदर निर्धारण गर्छ त भन्नुभयो, तर बैंकर्स एसोसिएसनमा बसेर तपाईंलगायतका सिइओहरूले विगतमा झै ब्याजदरमा सहमति गर्न पनि सक्नुहुन्छ नि ? 
कर्जाको ब्याजदरमा सहमति गरिएको छैन । राष्ट्र बैंकले नै बेसरेटभन्दा तल झर्न पाइँदैन भनेको छ । भद्र सहमति भनेको निक्षेपको दरमा गरेको हो । तर, त्यो बैंकको फाइदाका लागि गरेका होइनौँ । हामीले त्यो नगरेको भए निक्षेपको ब्याजदर १५ प्रतिशतमाथि हुन्थ्यो । श्रीलंकामा निक्षेपको ब्याजदर २५ प्रतिशत पुग्यो । यदि नेपालमा निक्षेपको ब्याजदर १५ प्रतिशत पुगेको भए कर्जाको २० प्रतिशत पुग्थ्यो । उद्यमशीलता मथ्र्यो । जोखिम मोलेर काम गर्दा १५ प्रतिशत पनि नाफा हुँदैन । तर, बैंकले १५ प्रतिशत ब्याज दिन्छ भने मान्छेले किन उद्यम गर्छ ? यसरी उद्यमशीलता नै मर्ने अवस्था आएपछि भद्र सहमति गरेको हो । अब साउनदेखि त्यो सहमतिको आवश्यकता पनि छैन । हामी साउनदेखि सहमति गर्नेछैनौँ, खुला राख्छौँ ।

यसपालि राष्ट्र बैंकलाई कोरोनाकालमा झैँ उदार हुने सुविधा छैन, सायद हुँदैन पनि होला । बीचमै रहेर मौद्रिक नीति आउने सम्भावना छ । धेरै कसिलो वा धेरै लचिलो बनाउँदा समस्या सुल्झिँदैन । अतः बीचमै बसेर मौद्रिक नीति ल्याउनुपर्छ ।

सरकारले मर्जर र एफपिओमा हुने अतिरिक्त लाभमा कर उठाउने भनेर आर्थिक ऐनमै व्यवस्था गरेको छ । यो विषय महालेखाले उठाएको थियो । यसको विरुद्धमा बैंकहरू किन लागेका ? आम्दानी गरेपछि कर तिर्नुपर्दैन ? 
नेपाल राष्ट्र बैंक वा नेपाल सरकार भन्नुस्, उहाँहरूले हामीलाई मर्जरमा जाँदा यी–यी कुरामा छुट दिन्छु भनेकै हो । पुँजीगत लाभकर पनि लिन्नँ, अरू कर पनि लिन्नँ भनेर ऐनमै आइसकेको कुरा पनि हो । सरकारको नीति र कार्यक्रमअनुसार नै बैंक तथा वित्तीय संस्था मर्जरमा गएका हुन् । तर, अहिले आएर कर तिर्नुपर्छ भन्नु राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यताविपरीत हो । करको मान्यताविपरीत हो । १५ वर्षअघि गरेको मर्जरमा ब्याज क्याल्कुलेसन गरेर कर माग्नु गलत हो । एफपिओमा पनि त्यही हो । संस्थाले कमाएको होइन ।

एउटा उदाहरण दिन्छु, एनबी र नबिलको मर्जर सन्दर्भ हो । एनबी बैंकका सेयरधनीले नबिलसँग मर्ज हुँदा जम्मा १ रुपैयाँबाट घटेर ४३ पैसा पाउनुभयो । आफ्नो पुँजी नै घटेर आयो । प्राप्त पुँजीलाई फेरि बोनसको रूपमा बाँड्यौँ । १५ प्रतिशत बाँड्यौँ होला । त्यसो गर्दा पनि जम्मा ५८ पैसा मात्रै भयो होला । अझै पनि ती सेयरधनीहरूलाई नोक्सान छ । तर, त्यो पैसामा पनि कर तिर भन्दा नोक्सानमा कर तिरेको भएन ?

बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षा माग्दै विज्ञप्ति जारी त गरे नै । गृहमन्त्रीलाई नै भेट्नुपर्ने अवस्था कसरी आयो ? 
बैंकिङ क्षेत्रले अहिले असुरक्षित महसुस गरेको छ । बजारमा कति उच्छृंखलता बढ्दै गयो भने ऋण लिने अनि तिर्नुपर्दैन भन्न थाले । ऋण तिर्नुपर्दैन भनेपछि भिड त्यतै लाग्ने भयो । यसले समस्या ल्यायो । समस्या सहकारीबाट लघुवित्तसम्म पुग्यो । सहकारी र लघुवित्त गाउँगाउँमा छन् । कर्जा उठाउन कर्मचारी गए भने धरपकड गर्ने, कुटपिट गर्ने र ज्यान मार्नेसम्मको जोखिम बढ्यो ।

राज्यमा कानुन नभएजसरी व्यक्ति वा समूहविशेषले यस्तो एजेन्डा उठाइदिँदा हामीले असुरक्षित महसुस गरेकै हो । समयमै तिर्ने ग्राहकले पनि केही समय पर्खेर हेर्ने सोच बनाए । त्यहीँ सिलसिलामा गृहमन्त्रीज्यूलाई भेटेर सुरक्षा व्यवस्था माग्यौँ । पछिल्लो समय त व्यापारी र राजनीतिक नेतृत्वले पनि आक्रमण गरे । आजका दिनमा सबैभन्दा बढी कर तिर्नेमा बैंकहरूको स्थान बलियो छ । तर, सबैले बैंकले चर्काे ब्याज लगायो मात्रै भन्नुहुन्छ । बैंकको लागत नै महँगो भएको बुझ्दिनुहुन्न ।

हामीलाई प्रिमियम र स्प्रेडमा सीमा लगाइदिएजस्तै अरू व्यापार व्यवसायको बिक्रीमूल्यमा पनि सीमा लगाइदिने हो भने के होला ? उद्योग व्यवसायमा कति नाफा छ भनेर कसैले हेरेको छैन । सबै व्यवसायका आ–आफ्नै व्यवस्था छन् । हामी अलि बढी नियमनमा छौँ, हुनु पनि पर्छ । यति नियमनमा बस्दाबस्दै चौतर्फी आक्रमण हुनु गलत हो । यति अर्ब नाफा गर्‍यो भन्ने विषयमा समाचार आउँछ ।

कुनै बैंकमा ६० अर्बको पुँजी लगाइएको छ । ६ अर्ब नाफा कमाइयो भने १० प्रतिशत त भयो । त्यसमा कर तिर्नुपर्छ, कर्मचारीलाई लाभांश दिनुपर्छ । नउठेको ब्याजलाई रिजर्भमा राखेर बाँकी पाँच प्रतिशत मात्रै बाँड्ने हो । त्यसैले यति अर्ब उति अर्ब भन्ने मात्रै बुझाइ भयो । ४ खर्बको एसेट परिचालन गरेर ६ अर्ब कमायौँ । डेढ प्रतिशत न हो । वितरणयोग्य नाफा हेर्न छोडेर खुद नाफा हेर्न थालियो ।

अब थोरै प्रसंग बदलौँ । बुधबारदेखि नबिल बैंक ४०औँ वर्षमा प्रवेश गर्दै छ, नबिल बैंकको हालसम्मको इतिहासलाई कसरी चर्चा गर्नुहुन्छ ?
नबिल बैंक ०४८ (१९९१) सालमा सुरु भएको उदारीकरणको व्यवस्थाभन्दा पहिला (१९८४ मा) जोइन्ट भेन्चरमा निजी क्षेत्रबाट स्थापना भएको हो । नेपालको बैंकिङ क्षेत्रको इतिहासमा यो एउटा पायोनियर थियो । बैंकले कसरी काम गर्नुपर्छ, ग्राहकलाई कस्तो सेवा दिनुपर्छ, भन्ने सन्देश हामीले नै दिएका हौँ । सुरुका दिनमा ग्राहकहरू हाम्रो बैंकमा छिर्नै डराउँथे । तर, बिस्तारै हामीले चेतना र पहुँच बढाउँदै गयौँ । सर्भिस डेलिभरी र ग्राहक सेवामै फोकस भएर काम गर्‍यौँ । राष्ट्र बैंकले सर्कुलर, गाइडलाइन ल्याउनभन्दा अघि नै हामीले रिक्स म्यानेजमेन्टमा काम गरेका थियौँ । राष्ट्र बैंकले नै हामीबाट धेरै कुरा सिकेको थियो । बैकिङ क्षेत्रमा नयाँ आयाम ल्याउन पनि नबिल बैंकको ठूलो योगदान छ ।

बैंकिङ क्षेत्र म्यानुअल प्रणालीबाट निस्केर कम्प्युटराइज प्रणालीमा जानुपर्छ भन्ने अवधारणा पनि हामीले ल्याएको हो । त्यसपछि बैंकलाई कम्प्युटराइजबाट डिजिटल्ली बनाउनुपर्छ भन्ने ट्रेन्ड पनि हामीले ल्याएको हो । नेपालमा पहिलोपटक डिजिटल बैंकिङमा जाने बैंक पनि नबिल नै हो । अहिले पनि हामीले बजारलाई हरेक हिसाबले लिड गरिरहेका छौँ । नयाँ प्रडक्टहरू ल्याइरहेका छौँ ।

३८औँ वार्षिक उत्सवको अवसरमा गत वर्ष ‘एन बैंक’ भन्ने प्रडक्ट लन्च गर्‍यौँ । जहाँ ६० वटा सेवाहरू डिजिटल प्लेटफर्ममै दिन सकिन्छ । भोलिका दिनमा डिजिटल सर्भिस थप्दै जानेछौँ । किनकि, अबको बैंकिङ भनेको नै डिजिटल बैंकिङ हो । अनलाइनबाट कर्जा दिने गरी फोनलोन प्रडक्ट ल्याएका छौँ । डिजिटल बैंकले भविष्यमा फिजिकल बैंकलाई चुनौती दिने अवस्था आउँदै छ । त्यसले गर्दा हामी पराम्परागत बैंकिङ सिस्टमबाट माथि उठेर डिजिटल बैंकिङमा जानुको विकल्प छैन । त्यसका लागि हामीले हाम्रो प्रणालीलाई बलियो बनाउँदै लैजाने योजनामा छौँ । डिजिटल बैंकिङको विकास हुँदै जाँदा सुरक्षा चुनौती पनि थपिएका छन् । ठगी पनि बढ्दै गएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै अहिले डिजिटल कारोबारमा सीमा पनि तोकिएका छन् । तर, भोलिका दिनमा प्रणाली बलियो हुँदै गयो भने उक्त सीमाहरू पनि क्रमशः बढ्दै जान्छन् ।

समग्रमा आजको दिनसम्म आउँदा नबिल बैंकले ओभरल बैकिङ क्षेत्रलाई लिड गर्न पाउँदा खुसी लाग्छ । नाफा, सेवा, प्रडक्ट, पोलिसीलगायतका आधारमा नबिल बैंक अगाडि नै छ । आगामी दिनमा पनि हामी यसलाई निरन्तरता नै दिन्छौँ । तर, पुँजी आकारमा ठूला बैंक हुन अझै २ वर्ष समय लाग्छ । किनकि, पछिल्लो समय ठूला–ठूला बैंकहरू मर्जर भएर पुुँजीको आकारमा ठूलो बैंक बन्न सकेका छैनौँ । तर, हाम्रो कल्चर, सेवा, पोलिसी, प्रडक्टका आधारमा हामी सधैँ नम्बर वान नै हुने गरी काम गर्छाैं । त्यसका लागि हामीले रणनीतिक योजना नै बनाएका छौँ ।

नबिल बैंक आएपछि बिस्तारै अरू बैंक पनि खुल्दै आए, प्रतिस्पर्धा पनि बढ्दै गयो । त्यसपछि हामीले मर्जरको रणनीति ल्याएका हौँ । अब हामी ग्रामीण क्षेत्रमा पनि प्रवेश गर्दै छौँ । प्रडक्टहरू डाइभर्सिफाई गर्दै छौँ । ती प्रडक्टलाई कसरी डिजिटलाइज गर्ने, ग्राहकलाई सेवा दिने समय कसरी घटाउँदै लैजाने भन्ने विषयमा काम गर्दै छौँ । २ वर्षअघि डेबिट तथा क्रेडिट कार्ड लिन कम्तीमा पनि २ हप्ता समय लाग्थ्यो । तर, अहिले ३ दिनमा त्यस्तो कार्ड दिन्छौँ । चेक साट्न,एटिएमबाट पैसा झिक्न लाग्ने समय पनि घट्दै छ । कार्यालयमा ग्राहकको आगमन घटाउने र सेवालाई डिजिटलाइज गर्ने नै हाम्रो उद्देश्य हो । नबिलमा यसबीचमा धेरै माइलस्टोन प्राप्त भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अवार्ड पाएका छौँ । आगामी दिनमा पनि यही कल्चरलाई विकास गरेर अगाडि बढ्छौँ ।

ग्राहक, नाफा, पुुँजीलगायतका तथ्यांकका आधारमा नबिल बैंकको स्थान कहाँ छ ? यसबारे केही बताइदिनुस् न ।
यो आर्थिक वर्षमा ग्राहकको संख्या २० लाखभन्दा बढी हुन्छ । ब्यालेन्स सिटको साइज ४ खर्ब रुपैयाँभन्दा ठूलो हुन्छ । खराब कर्जा असुली राम्रो भयो भने नाफा कमाउने मामिलामा पनि हामी ‘नम्बर वान’ नै हुन्छौँ । तर, ब्यालेन्स सिटको साइज आधारमा भने हामी दोस्रो नम्बरमा छौँ । किनकि, यसबीचमा अन्य ठूला–ठूला बैंक मर्ज हुँदा पहिलो नम्बरमा आउन सकेनौँ । समग्रमा यो असार मसान्तमा हामी साइजका आधारमा दोस्रो र नाफाका आधारमा पहिलो नम्बरमा हुने प्रयासमा छौँ । हामीले पूर्ण रूपमा नम्बर वान बैंकको ताज प्राप्त गर्न भने अझै दुई वर्षजति लाग्छ । तर, नम्बर वान बन्ने होडमा सेवामा कुनै पनि कमजोरी ल्याउनेछैनौँ । हाम्रो पहिलो प्राथमिकता राम्रो र गुणस्तरीय सेवा दिने नै हो ।

मर्जरपछि बैंकहरूको सेवामा थुप्रै समस्या आउँछन् । तपाईंहरूले यसबीचमा बैंकहरू मर्ज पनि गर्नुभयो । त्यसक्रममा केही समस्या आए कि ? 
सुरुवाती समयमा केही समस्या आए । त्यसमाथि पछिल्ला दुई मर्जर क्लोजिङको समय (असार २६ गते) भएको थियो । त्यसले ग्राहकको सेवामा समस्या आएको थियो । त्यसलाई समाधान गर्न धेरै मिहिनेत गर्नुपरेको थियो । तर, अहिले त्यस्तो समस्या छैन । अहिले ग्राहकले अनुभव गर्ने गरी कुनै पनि समस्या छैन ।

नबिल बैंकको अबको व्यावसायिक रणनीति कस्तो रहन्छ ? 
हाम्रो मुख्य रणनीति ग्रोथ नै हो । अलि–अलि खराब कर्जा बढे पनि बढोस्, हामी ग्रोथमै जान्छौँ । अहिले हाम्रो शाखा कार्यालय पनि २६५ वटा पुगेको छ । त्यसलाई ३०० हारहारीमा पुर्‍याउने हाम्रो लक्ष्य छ । त्योअनुसार अगाडि बढियो भने दुई वर्षमा पुँजी, व्यवसाय, नाफालगायतका आधारमा हामी नम्बर वान बैंक नै बन्छौँ । नम्बर वानको ताज हामीलाई नै चाहिएको त होइन, तर हाम्रो रणनीति त्यो हो । तर, त्यसका लागि हामी कुनै कम्प्रोमाइज गर्दैनौँ । सेवालाई गुणस्तरीय बनाउने, छिटोछरितो बनाउने काम अवश्य नै हुन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top