दमौली– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो।
गत आवमा १६० किसानलाई जनही १० हजारका दरले अनुदान वितरण गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठले भने, ‘पाडापाडी हुर्काउने कार्यक्रमअन्तर्गत किसानसँग आवेदन माग गरेको केही दिनमै अत्यधिक आवेदन आएको थियो, सबैलाई दिन सकेनौँ। केहीलाई मात्रै दिएका छौँ, बाँकी आवेदकलाई चालु आवमा दिन्छौँ।’
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा अनुदानको व्यवस्था गरिएको केन्द्रको भनाइ छ। ‘हामीकहाँ मुर्रा जनाका भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता छ,’ केन्द्रका प्रमुख डा श्रेष्ठले भने, ‘अनुदान पाएपछि किसानले हुर्काउँछन्, यसले दीर्घकालीन रूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।’
यसैगरी कार्यालयले दूध उत्पादनका आधारमा कृषकलाई अनुदान रकम वितरण गरेको छ। गत आवमा केन्द्रले किसानलाई ३६ लाख रुपैयाँ वितरण गरेको थियो। केन्द्रले ८ सहकारी संस्थामार्फत् किसानलाई अनुदान वितरण गरेको हो। प्रतिलिटर २.४५ रुपैयाँ दरले अनुदान वितरण गरिएको डा श्रेष्ठले बताए।
व्यास नगरपालिका–१० स्थित दुम्सी दुग्ध उत्पादक सहकारी, शेवर दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१३ स्थित बेलवास दुग्ध उत्पादक सहकारी, भानु नगरपालिका–४ स्थित प्रगति दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१ स्थित चारकुने दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–५ स्थित चिन्तुटार दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ दुग्ध उत्पादक सहकारी र बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामार्फत अनुदान वितरण गरिएको हो।
अनुदानले किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएको र जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको उनको भनाइ छ। डा श्रेष्ठले भने, ‘उत्पादनका आधारमा अनुदान दिँदा कृषकमा हौसला बढेको छ। पहिला कम उत्पादन गर्नेले अहिले धेरै उत्पादन गर्न थाल्नुभएको छ।’
बन्दीपुर गाउँपालिका–१ का कृषक भोजनाथ पराजुलीले प्रदेश सरकार, स्थानीय सरकारमार्फत दुधमा अनुदान पाउँदा पशुपालन गर्न हौसला मिलेको बताए। उनले भने, ‘उत्पादनका आधारमा अनुदान पाउँदा व्यवसायमा लगानी थप्न सहयोग मिलेको छ।’
त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यक पर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ। साथै ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८२ दशमलव ५९ गोटा अण्डा उपलब्धता छ। यो हिसाबले प्रति व्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४ दशमलव ५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ। (रासस)