२० भदौ २०८० काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ११० मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको छ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालको विद्युत प्राधिकरणलाई २ जलविद्युत आयोजनाको ११० मेगावाट बिजुली ५ वर्षसम्म बिक्रीका लागि अनुमति दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले मध्यकालीन सम्झौतामार्फत १ सय १० मेगावाट र प्रतिस्पर्धी बजारमा थप ७० मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको हो । मध्यकालीन पाँचवर्षे विद्युत् खरिद बिक्री सम्झौता पीपीएमार्फत ११० मेगावाट बिक्रीको अनुमति पाएपछि बुधबारबाट निर्यातको तयारी थालेको प्राधिकरणले जनाएको छ्।
भारतको एनटीपीसी विद्युत व्यापार निगम एनभीभीएनले विद्युत भारतको हरियाणाका विद्युत वितरण कम्पनीलाई बिक्री गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअगाडि नै प्राधिकरण र एनभीभीएनबीच ५ वर्षसम्म वर्षायाममा २ सय मेगावाटसम्म विद्युत खरिद बिक्रीका लागि सम्झौता भएको थियो।
पछिल्लो सम्झौता मध्यमकालीन भएको र अब हरेक वर्षायाममा नेपालबाट भारतमा बिजुली निर्यात निश्चित गरिएको समेत प्राधिकरणको भनाइ छ ।
यसअघि ४५२ मेगावाट बिजुली भारतमा बिक्री भइरहेको छ । भारतले नेपालको १० हजार मेगावाट विद्युत खरिद गर्ने निर्णय समेत गरेको छ ।