कान्ति बाल अस्पतालको लापर्बाहि , उपचार कुर्दा कुर्दै बालिकाको मृत्यु

Facebook
Twitter
WhatsApp

 

गम्भीर अवस्थाका बिरामी पुग्नेबित्तिकै उपचार सुरु गर्ने र उच्च निगरानीमा राख्ने ठाउँ हो, अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्ष । तर, बालबालिकाका लागि देशकै विशिष्टीकृत मानिएको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म छटपटाउँदा पनि उपचार नपाएर एक बालिकाको ज्यान गएको छ । उच्च ज्वरो र निरन्तरको बान्ताले शिथिल बनेकी बालिकालाई हजुरबा र आमाले तत्काल उपचार गरिदिन पटक–पटक अनुनय गर्दा पनि इमर्जेन्सी विभागका कर्मचारीले पालोमा कुराउँदा अप्रिय घटना भएको हो ।

काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५:०० बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्‍याएका थिए । इमर्जेन्सीमा बिरामीको भिड थियो । कृष्णबहादुरले नातिनीको अवस्था जटिल बन्दै गएकाले तत्काल उपचारको व्यवस्था मिलाइदिन इमर्जेन्सी कक्षमा खटिने सेक्युरिटी गार्डलाई बिन्ती गरे । त्यहाँ डाक्टरबाहेक व्यवस्थापन मिलाउने सेक्युरिटी नै

तर, सेक्युरिटीले टिकट काटेर पालोमा बस्न आदेश दिए । टिकट लिने प्रक्रिया पनि उस्तै लम्बेतान, कृष्णबहादुरले काउन्टर नम्बर १ मा गएर टिकट लिँदा ५:४२ बजिसकेको थियो । पालो ६३ नम्बरमा पर्‍यो, जब कि त्यतिवेलासम्म डाक्टरले १५ नम्बरसम्मका बिरामीलाई मात्रै हेरेका थिए । रेजिशालाई भने ज्वरोले गालेर लल्याकलुलुक बनाउँदै थियो । कृष्णबहादुरले नातिनीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै पालो अगाडि सारिदिन सेक्युरिटी गार्डसामु हात जोडे ।

अस्पतालको सुरक्षामा खटिएका प्रहरीले पनि पालो अगाडि सारिदिन आग्रह गरेका थिए । तर, बिरामीको ज्यान तलमाथि होला भन्नेमा होइन, कसैको पालो तलमाथि होला कि भन्नेमा निर्मम बन्यो अस्पताल प्रशासन, किनभने त्यो कान्ति बाल अस्पतालको इमर्जेन्सीमा स्थापित कठोर नियम हो । जतिसुकै गाह्रो भए पनि पालोमै आउन भनेपछि कृष्णबहादुर र रिताले रेजिशाको छटपटीमा रुनबाहेक केही गर्न सकेनन् । दुई घन्टासम्म कुर्दा पनि इमर्जेन्सीको उपचार नपाएपछि साँझै ७:१० बजे रेजिशाको मृत्यु भयो ।

‘हामीले नातिनीलाई उपचारका लागि समयमै अस्पताल पुर्‍याएका हौँ, तर इमर्जेन्सीमा पुगेर पनि वेलैमा डाक्टरलाई देखाउन पाएनौँ । नातिनीको अवस्थाबारे पटक–पटक जानकारी गराउँदा पनि सेक्युरिटी गार्डले पालोमा आउन भनेपछि हाम्रो कुनै उपाय चलेन । दुई घन्टासम्म पालो कुर्दा पनि डाक्टरलाई देखाउन पाइएन, हेर्दाहेर्दै नातिनीको ज्यान गयो,’ कृष्णबहादुरले रुँदै भने, ‘इमर्जेन्सीमा पुगेर पनि दुई घन्टासम्म डाक्टरलाई देखाउन नपाउने कस्तो स्वास्थ्य व्यवस्था ? बिरामीको छटपटी र आफन्तको पीडा नदुख्ने कस्तो अस्पताल, कस्ता कर्मचारी ? मेरो लागि त्यो अस्पताल होइन, मुर्दाघर बन्यो । अरू कुनै अस्पताल लगेको भए बरु नातिनी बचाउन सक्थेँ कि !’

अस्पतालको गैरजिम्मेवार व्यवहारका कारण रेजिशाको ज्यान जानु मृतकको सूचीमा अर्को एक नाम थपिनु मात्रै हो । तर, अकालमा ज्यान गुमाएका परिवारका लागि अपूरणीय क्षति हो । आमा रिताको कोख रित्तिएको छ । छोरीलाई राम्रो शिक्षा दिएर उनको सुन्दर भविष्य कोर्न एक वर्षदेखि परदेश (पोर्चुगल)मा पसिना बगाउँदै गरेका बुबा जितबहादुरको सपनाले हार खाएको छ ।

तर, अस्पताल प्रशासन भने उल्टै शोकसन्तप्त परिवारमाथि दोष देखाएर मृत्युलाई सामान्यीकरण गर्न उद्यत् छ । कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय उपचार नपाउँदा बालिकाको ज्यान गएको स्विकार्छन्, तर आफन्तले बिरामीको अवस्थाबारे बुझाउन नसकेको दाबी गर्छन् । ‘अस्पताल पुग्दा पनि उपचार नपाएर बालिकाको ज्यान जानु राम्रो होइन । तर, बिरामीका आफन्तले बालिकाको अवस्थाबारे सेक्युरिटी गार्डलाई राम्ररी भन्नुभएको रहेनछ, त्यसकारण यस्तो घटना हुन पुग्यो,’ उनले भने, ‘बिरामीको भिड धेरै हुने भएकाले पनि पुग्दाबित्तिकै सेवा लिन कठिन छ ।’

अस्पतालको लापरबाहीले बालिकाको ज्यान गएपछि आफन्तले सोमबार नै सिसिटिभी फुटेज हेर्न अस्पताल प्रशासनलाई आग्रह गरेका थिए । कृष्णबहादुरले घटनाको जिम्मा अस्पताल प्रशासनले लिनुपर्ने, दोषीमाथि कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । मृतकका आफन्तले सोमबार राति र मंगलबार बिहान अस्पताल परिसरमा आन्दोलन पनि गरेका  छन । यो समाचार आजको नयाँ पत्रीकामा छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top