१४ जेठ २०८१, सोमबार

नुवाकोटले नबुझेको सम्पदा गाँउको महत्व

Facebook
Twitter
WhatsApp

२०७२ सालको बिनासकारी महाभुकम्पले नेपालका धेरै भौतिक संरचना, साँस्कृतिक एवं पर्यटकीय सम्पदाहरु, बिभिन्न बिकासका संरचनाहरुको क्षति राज्यले व्यहोर्न पर्याे । आजका दिन सम्म कति संरचनाहरु पुननिर्माण भईसक्यो त कति अझै हुन बाँकी नै छ र कति त हाल निर्माणाधिन अवस्थामा समेत रहेको छ ।

२०७२ सालको बिनासकारी भुकम्पबाट नुवाकोटका धरोहरहरु र व्यक्तिगत संरचना पनि अछुतो रहन सकेन । त्यस बेला मानिसहरु आफ्नो जिवन कसरी बचाउने भनि सोचिरहेको सन्दर्भमा नुवाकोटका केही बुद्धीजिबि, समाजसेवी, अगुवा व्यक्तिहरुको उपस्थितिमा बरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले सम्पदा गाँउको अवधारण अगाडि सार्नुभयो । नुवाकोटका करिव ४२० घरधुरीहरुलाई पुरानो मौलिक पराम्परागत ढङ्गबाट पुननिर्माण गरी नुवाकोटलाई राजधानीबाट निकै नजिकको पर्यटकीय गन्तव्यको रुपमा स्थापीत गराउने र नुवाकोटलाई छोटो दुरीको आन्तरीक पर्यटकीय गन्तव्यको रुपमा परिचित गराई नुवाकोटलाई अन्य सहरहरुको गन्तव्य स्थल जस्तै गरी प्रचारप्रसार गरी त्यहाँका स्थानीय व्यक्तिहरुलाई समेत रोजगारी सृजना गराउने उदेश्य थियो । २०७६ सालमा मन्त्रीस्तरीय निर्णयबाट सहरी विकास मन्त्रालयले नुवाकोटलाई सम्पदा बस्तीको सुचीमा सुचीकृत गरेको थियो । भुकम्प भन्दा अगाडी पुरातत्व बिभागले साततले दरबार देखि भैरवी मन्दिर सम्मको करिब २१ घरधुरीहरुलाई स्थानान्तरण गर्ने समेत योजना बनाई केही रकम समेत बिनियोजिन गरेको थियो । तर त्यसलाई यसै सम्पदा गाँउको परिकल्पना भए पश्चात रोकिन गएको थियो । साथै पुरातत्व बिभागले समेत सम्पदा गाँउको अवधारणालाई निकै सर्हानिय कार्य भन्दै पुरातत्व बिभागका तत्कालिन महानिर्देशक भेषनारायण दाहालले पटकपटक अवोलोकन समेत गर्नुभएको थियो । त्यसै गरी तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेम कुमार राई, पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समेत धेरै पटक नुवाकोट सम्पदा गाँउको अवोलोकन गर्नुभएको थियो ।

भुकम्प पश्चात चिन सरकारले निर्माण जिम्मेवारी पाएका ऐतिहासिक साततले दरवार र त्यस क्षेत्रका अन्य ऐतिहासिक संरचनाहरु समेतको निर्माण सम्पन्न हुन सकेको छैन र हाल सम्म पनि त्यस संरचनाहरुको अवस्था नाजुक रहेको छ । यस तर्फ न त स्थानीय तह, न त स्थानीय जनता, न त सरकारको नै ध्यान पुगेको छ । कोभिडको बाहानामा निर्माण जिम्मेवारी प्राप्त कम्पनीका कामदारहरु समेत उक्त स्थान उपस्थित नभई निर्माण कार्य सुचारु नहुदाँ, के अव साततले दरबार र अन्य ऐतिहासिक सम्पदाहरुको पुननिर्माण हुन्छ की हुदैन भनेर स्थानीयहरुमा समेत दुबिधा रहेको छ ।

यसरी कल्पना गरिएको सम्पदा गाँउलाई मूर्त रुप दिन पर्यटन व्यवसायी सुमन पाण्डे व्यक्तिगत रुपमा ठुलो धनराशी खर्च गरी सम्पदा गाँउको मास्टर प्लान, घरहरुको नमुना डिजाईनहरु र हरेक घरहरुको नक्सा तथा ईन्जिनियरिङ्ग डिजाईनहरु बनाई सरकारी स्तरबाट समेत नुवाकोटलाई सम्पदा बस्तीको सुचीमा पार्न सफल भएको हो । यसरी अभियान सुचारु गरसकेपछि तत्कालिन नगर प्रमुख सञ्जु पण्डितले बिदुर नगरपालिकाबाट रु. ४० हजार अनुदान र नक्सा पासको खर्च समेत निशुल्क गरेको थियो र यदि पुननिर्माण प्राधिकरणको सम्पदा बस्ती मापदण्ड अनुरुप घरहरु निर्माण गर्ने व्यक्तिलाई रु. ५० हजार थप अनुदान दिन गरी कार्यबिधि निर्माण भएको थियो तर कुनै पनि घरधनीहरुले उक्त कार्यविधि अनूरुप घरहरु निर्माण नगर्दा अनुदान बापतको रकम रु. ५० हजार बितरण भएको छैन ।

के हो सम्पदा बस्ती?
पुननिर्माण प्राधिकारणको मिति २०७६ साल आषाढ १७ गतेको कार्यकारी समतिद्धारा स्वीकृत “सम्पदा बस्तीका एकल वा बहुस्वामित्वका निजी आवास पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७६” मा सम्वत् २०७२ को भूकम्प र त्यसपछिका परकम्पहरुबाट क्षतिग्रस्त बहुस्वामित्वमा रहेका सम्पदा बस्ती भित्रका भूकम्प प्रभावित निजी आवासहरुको पुनर्निर्माण गर्ने प्रकृयालाई सरलीकृत गरी सम्पदा बस्तीहरुको मौलिक स्वरुप र वास्तुकलाको जगेर्ना सहित हेतुका साथ यस कार्यबिधि निर्माण भएको हो । साथै सम्पदा बस्ती भित्र प्राचीन बस्तीका मौलिक स्वरुपमा अनुसूची–३ अनुरुपको मापदण्ड पालना गरी भवन पुनर्निमाण गर्ने घरधनीहरु लाई राष्ट्रिय पुननिर्माण प्राधिकरणले थप पचास हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराउने व्यवस्था समेत पुननिर्माण प्राधिकरणले गरेको थियो ।

सम्पदा बस्ती पहिचान गर्ने आधारहरु देहायका विवरणहरुका आधारमा सम्पदा बस्तीको पहिचान गरिनेछः
(क) बस्तीमा कम्तीमा ५० वा सो भन्दा बढी घरहरु भएको हुनुपर्ने ।
(ख) सामान्यतया १०० वर्ष वा सो भन्दा पुरानो बस्ती हुनुपर्ने ।
(ग) बस्तीहरुमा स्थानीय बास्तुकला उपयोग गरिएका चैत्य तथा मठ, मन्दिर, पाटी, सतल जस्ता सार्वजनिक भवनहरु, ईनार, ढुङ्गेधारा, पोखरी जस्ता संरचनाहरु हुनुपर्ने ।
(घ) बस्तीहरुमा परम्परा देखि संचालन हुँदै आएका सांस्कृतिक महत्वका स्थानीय चाडपर्व, जात्रा तथा भजनकिर्तनको बाहुल्य तथा यस्ता कार्यहरु गर्ने स्थानीय गुठी जस्ता संघ संगठनको निरन्तरता भएको हुनुपर्ने ।

साथै पुननिर्माण प्राधिकारणको मिति २०७६ साल आषाढ १७ गतेको कार्यकारी समितिद्धारा स्वीकृत “सम्पदा बस्तीका एकल वा बहुस्वामित्वका निजी आवास पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७६” मा साविक भवनको पुननिर्माण गर्दा मुल प्रवेश तर्फको मोहडाको साविक पदचापमा कुनै परिवर्तन नहुने गरी जग्गा उपयोगको कुल प्रतिशत भित्र मिलान गर्न सकिनेछ भनि उल्लेख गरिएको छ । अर्थात सम्पदा बस्ती भित्रका घरहरु निर्माण गर्दा भुकम्प अगाडी जुन स्थानमा घर थियो त्यही स्थानमा नै जग रहने गरी घरहरु निर्माण गर्नुपर्ने प्रावधान थियो । सम्पदा बस्ती भित्रका घरहरु निर्माण गर्दा भवनको अधिकतम उचाई कति हुनुपर्दछ, अधिकतम तल्ला कति हुनुपर्दछ, तल्लाको उचाँई, सेटव्याक कति, प्रवेश माध्यम कस्तो, पछाडी र साईडकको खुलाभाग कति, भित्री चोक कस्तो हुनुपर्दछ, सडक अधिकार क्षेत्र के हुने, भ¥याङ्ग र भुईगल कस्तो हुनुपर्ने, फिनिसिङ्ग र मोहडा कस्तो हुनुपर्ने, झ्याल ढोका कस्तो हुनु पर्ने भन्ने कुराहरु मापदण्डमा उल्लेख गरिएको छ । त्यसै अनुरुप नै सम्पदा बस्तीहरुको पुननिर्माण गरिनुपर्ने गरी सम्पदा बस्तीको मापदण्ड निर्माण गरिएको हो । यसको लागि स्थानीय पालिका वा स्थानीय तहले नियमन, सिफारिस गर्ने गरी कार्यबिधि स्वीकृत भएको थियो ।

तर नुवाकोट र नुवाकोटका जनताले सम्पदा गाँउको भावना नै बुझ्न नसकेको हो की भन्ने महशुस हुन थालेको छ । मैदानटोल देखि भैरवीस्थान, भुटोलबजार हुदै अशोकबारी सम्मका सडकहरुमा ढुङ्गा ओछ्याउने, सार्वजनिक पार्किङ्ग, त्यस स्थान भन्दा अलि परको स्थानमा बनाई उक्त बजार क्षेत्र भित्र गाडीहरुको प्रवेश रोक लागाई बन्दीपुरको जस्तै पैदल हिडि भैरबीमन्दिर दर्शन गर्न जाने सोचका साथ सम्पदा गाँउका परिकल्पना गरिएको हो । अहिले दिन प्रतिदिन सम्पदा गाँउ क्षेत्र वरपर बाटो तथा सार्वजनिक स्थल वरपर सिमेन्टका ढलानहरु, बाटोहरुमा कालो पत्रे पिचहरु भईरहदा स्थानीय सरकार अर्थात बिदुर नगरपालिका समेत मुकदर्शक बनिरहेको छ । बिकास पक्कै आवश्यक छ तर सम्पदा गाँउको मर्म र भावना भने पटकै मर्न दिनु हुदैन ।

स्थानीय जनप्रतिनिधि, स्थानीय समुदाय, स्थानीय, प्रदेश र संघिय सरकारले नुवाकोट सम्पदा बस्ती क्षेत्र भित्र, के सम्पदा बस्तीको मापदण्ड अनुरुप घरहरु, बाटोहरु, सार्वजनिक स्थलहरु बनिरहेको छ त भनि अध्ययन अनुगमन गर्नु आवश्यक छ र त्यस क्षेत्रलाई सम्पदा गाँउको मर्म र भावना अनुरुप बिकास गर्न सकिएन भने हामिले निकै ठुलो अवसर गुमाउनेछौ र हाम्रा सन्ततीहरुले हामीलाई धिक्कार्ने छन् ।

लेखकः सरोज बानियाँ, बिदुर २ नुवाकोट
नुवाकोट सम्पदा गाँउका कार्यक्रम संयोजक भई करिब ३ बर्ष काम गरेका व्यक्ति हुन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top