माल्टा जाँदै हुनुहुन्छ भने यो थाहा पाउनुस

Facebook
Twitter
WhatsApp

बिदेश । माल्टा युरोपको स्वतन्त्र देश हो । यो युरोपको भूमध्य सागरको केन्द्रमा अवस्थित छ । यहाँका तीन वटा छुट्टा छुट्टै टापुहरूमा मानिसहरूको बसोबास छ । तीन टापुहरू मिलेर बनेको माल्टाको भू-भाग ३१६ वर्ग किलोमिटरमा फैलिएको छ । छ । यो देश ५ क्षेत्रमा विभाजित छ । प्रत्येकको आफ्नै क्षेत्रीय समिति छ । जसले स्थानीय र राष्ट्रिय सरकारबीच मध्यस्थताको काम गर्छन् ।

यहाँको जनसङ्ख्या ५ लाख ३३ हजार २८६ छ । जनसङ्ख्या र भू – भाग दुवै हिसाबले यो देश युरोपियन युनियन (ईयु)को सबैभन्दा सानो सदस्य राष्ट्र हो । माल्टाबाट सबैभन्दा नजिकको ठाउँ इटालीको सिसिली पर्छ । यो देश शेन्जेन क्षेत्र भित्र पर्दछ ।

स्वतन्त्र रूपमा मानिसको आवतजावतसँगै सामानहरू समेत सिमाना वारपार गर्न सक्ने गरी युरोपका विभिन्न २७ वटा देशहरूबीच शेन्जेन सम्झौता भएको छ । यी २७ मध्ये कुनै एक देशको भिसा भएकाहरूले २७ वटै देशमा विना रोकावट आवतजावत गर्न सक्छन् । यिनै २७ देशहरूलाई शेन्जेन क्षेत्र भनिन्छ ।

राजधानी : भेलेट्टा

भाषा : माल्टीज / अङ्ग्रेजी

मुद्रा : यूरो ।

समय भिन्नता : नेपाल समयभन्दा ३ घण्टा ४५ मिनेट ढिला छ ।

शेन्जेन क्षेत्र सदस्य : डिसेम्बर २००७ देखि

हावापानी :   मौसम मध्यम खालको छ ।  यहाँ गर्मीयाम तातो र सुख्खा हुन्छ । तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्छ । जाडोयाममा भने धेरै चिसो हुँदैन । हल्का जाडो हुन्छ र पानी पनि पर्छ । जाडोको समयमा डिसेम्बरदेखि फेब्रुअरीसम्म तापक्रम १५ देखि १७ डिग्री सेल्सियसमा मात्र झर्छ । अर्थतन्त्र, रोजगारीको अवसर र हावापानीका कारण पनि बस्न र काम गर्नको लागि उत्कृष्ट ठाउँहरूमध्ये माल्टालाई पनि एक मानिन्छ ।

भिसा सम्बन्धी नियम : माल्टामा तीन महिनाभन्दा बढी बस्नको लागि विदेशी नागरिकहरूले राष्ट्रिय लामो-बस्ने भिसा वा D भिसा (The National Visa, long stay / D-Visa) को लागि आवेदन दिनु पर्छ ।

D भिसाले विदेशी नागरिकहरूलाई माल्टामा तीन महिनाभन्दा बढी बस्न अनुमति दिन्छ । यो तीन महिनाभन्दा बढी बस्न र काम गर्न चाहने श्रमिकका लागि आवश्यक पर्छ । यो भिसा कामको सम्झौता मितिसम्म नवीकरण हुन्छ ।

लामो समय बस्ने भिसाको अतिरिक्त विदेशी कामदारहरूलाई वर्क परमिट चाहिन्छ । माल्टामा यो अनुमतिलाई रोजगार इजाजतपत्र (employment license) भनिन्छ । कुनै पनि विदेशी कामदारलाई आफ्नो कम्पनीमा काममा लगाउँदा रोजगारदाताले नै रोजगार इजाजत पत्रको लागि आवेदन दिनु पर्ने नियम छ । विदेशी श्रमिकहरूले माल्टाको कुल श्रम शक्तिको २७.९% ओगटेका छन् । पछिल्लो समय भने एसियाली श्रमिकहरूको सङ्ख्या बढ्दो क्रममा छ ।

पारिश्रमिक : माल्टामा मासिक न्यूनतम ज्याला ८३५ युरो तोकिएको छ । जसको नेपाली रुपैयाँ एक लाख १९ हजार ३३९ बराबर हुन्छ । तर समय अनुसार विनिमय दर घटबढ हुनसक्छ ।  यहाँ दिनको ८ घण्टा वा हप्ताको ४० घण्टा काम गर्नु पर्ने नियम छ ।

रोजगारीको अवसर : क्लिनर, डेलिभरी पर्सन, निर्माण कार्यहरू, हाउसकीपिङ र होटल, रेस्टुरेन्ट लगायतका क्षेत्रमा बढी मात्रमा काम पाइन्छ ।

ट्राफिक नियम : माल्टामा गाडी नेपालमा जस्तै सडकको बायाँतर्फ चल्छन् । गाडी चलाउनको लागि कानुनी उमेर १८ वर्ष हो । रगतमा ०.०८% वा माथिको अल्कोहलको स्तर भए सवारी साधन हाँक्न निषेध छ । आपतकालीन अवस्थामा ११२ डायल गरेर सहयोग लिन सकिन्छ ।

पैदलयात्रीले सधैँ सडक पेटी (footpath) को प्रयोग गर्नु पर्छ । सडक पार गर्दा आफ्नो सुरक्षा सुनिश्चित गर्न पेलिकन क्रसिङ, जेब्राक्रस, सबवे, फुटब्रिज, टापु र ट्राफिक बत्तीहरू जस्ता तोकिएका ठाउँहरू प्रयोग गर्नुपर्छ । बाटो काट्न सुरु गर्नुअघि गाडीहरू पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्नुपर्छ । बाटो काट्दा सधैँ स्टडहरूबीच (सडकमा ओछ्याइएका चम्किला बत्तीहरू वा जेब्राको चिन्हहरू) माथि हिँड्नुपर्छ ।

माल्टा यात्रा गर्दा आफूसँग लैजान नमिल्ने सामग्रीहरू:

  • मासु वा मासु भएको उत्पादनहरू
  • दूध वा डेरी उत्पादनहरू
  • ताजा फल
  •  तरकारी
  • बिउ वा बिरुवाहरू

माल्टा संस्थागत रूपमा म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने गरी सरकारले खुला गरेको देश हो । यो देशमा श्रमिक पठाउन कुन म्यानपावर कम्पनीले कुन कुन कामको माग ल्याएको छ र के कस्ता सेवा सुविधा पाइन्छ भन्ने जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत थाहा पाउन सकिन्छ । यसका लागि विभागको वेबसाइट www.dofe.gov.np मा गई वैदेशिक रोजगारीको खोजी लेखिएको ठाउँमा क्लिक गरी आफूलाई आवश्यक परेको जानकारी खोज्न सकिन्छ ।

माल्टामा नेपालको आधिकारिक नेपाली नियोग छैन । लण्डनमा रहेको नेपाली दूतावासले माल्टामा द्विपक्षीय मामिला हेर्छ । माल्टामा कार्यरत रहँदा कुनै समस्या पर्‍यो वा दूतावासमार्फत कुनै काम गर्न पर्‍यो भने लण्डनस्थित नेपाली दूतावासलाई नै सम्पर्क गर्नुपर्छ ।

त्यस्तै नेपालमा पनि माल्टाको आधिकारिक नियोग छैन । नयाँ दिल्लीस्थित माल्टिज हाइकमिसनले नेपाल (भिसा) सम्बन्धी सबै कामकाज हेर्ने गर्छ । माल्टाले नेपालमा मानार्थ महावाणिज्यदूत भने नियुक्त गरेको छ ।

नेपाली दूतावास, लण्डन

वेबसाइट : https://uk.nepalembassy.gov.np/nepal-malta-relations/

ठेगाना : 12A केन्सिङ्टन प्यालेस गार्डेन, लन्डन W8 4QU, UK

इमेल : info@nepembassy.org.uk

सम्पर्क नम्बर: +44 (0)207 229 1594 09.00 – 13.00 बजे र 14.00 – 17.00 बजेबीच

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top