काठमाडौं : आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने बडादशैं शुरू भएको छ। पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।
बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ।
यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।
जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतमले बताए। कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ।
विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ।्
घटस्थापनाको साइत आज बिहान ११ः२९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेको छ।