०८ जेठ २०८१, मंगलबार

पश्चिम नेपालमा किन भूकम्पको जोखिम छ?

Facebook
Twitter
WhatsApp

राष्ट्रिय भूकम्प मापन केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारीका अनुसार तथ्याङ्कहरू हेर्दा पनि पछिल्लो समयमा पश्चिम नेपालमा बढी भूकम्पहरू गइरहेको छ।

उनले दैनिक रूपमा साना र बेला बेलामा मझौला किसिमका भूकम्प गइरहेका घटनाले उक्त क्षेत्रमा भूकम्पीय रूपमा जोखिम रहेको देखाएको बताए।

उनले भने, “त्यहाँ भूकम्पीय शक्ति सञ्चित भएको हो। जति पनि साना र मझौला भूकम्प गइरहेका छन् त्यसले यो ठाउँमा ठूलो भूकम्प जाने शक्ति छ। भूकम्पीय जोखिममा हामी छौँ भन्ने यसले सङ्केत गर्छ।” नेपाल भूकम्प: काठमाण्डू यसरी पूर्वतिर सर्दै पछि पश्चिममा गएर अडियो /
पृथ्वीको सतह मुनी रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टीमिटरको दरले उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको विज्ञहरू बताउँछन्।

त्यसकारण नेपालमा भूकम्पको जोखिम रहेको भन्दै अधिकारीले भने, “जति धेरै समय, त्यति धेरै शक्ति सञ्चय हुने भयो। जति धेरै समयसम्म शक्ति बाहिर निस्किएन वा भूकम्प गएन ठूलो भूकम्प जाने सम्भावना भयो।”

अधिकारीहरूका अनुसार नेपालमा २ म्याग्निट्यूड भन्दा बढीका झन्डै १० वटा भूकम्प दैनिक रूपमा जाने गरेका छन्। सन् २०१५ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो जसमा ९ हजार भन्दा बढीको ज्यान गएको थियो।

अघिल्लो महिना बझाङमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते भएका थिए।

अहिलेसम्मको अध्ययनले गोरखा भन्दा पश्चिम भारतको देहरादुन भन्दा पूर्वको करिब ८०० किलोमिटर भूभागमा विक्रम सम्वत् १५०५ यता महाभूकम्प नगएको हुँदा यो क्षेत्रमा जोखिम रहेको अधिकारीजस्ता विज्ञहरू बताउँछन्।

उनले भने, “प्लेटहरू सर्ने कारणले जुन दुई सेन्टिमिटरका दरले नेपाल भित्र प्रतिवर्ष सञ्चित हुने शक्ति हो, त्यो ५०० वर्ष यता भूकम्प नगएका कारणले जम्मा भएर बसेको छ। त्यसमा आठ म्याग्निट्यूड वा त्यो भन्दा बढीको भूकम्प निम्त्याउन सक्ने शक्ति छ।”

के मझौला भूकम्पले जोखिम कम गर्छ?
भूगर्भविद् प्रा. डा. विशालनाथ उप्रेती उक्त क्षेत्रमा सञ्चय भएको भूकम्पीय शक्तिले विक्रम सम्वत् १९९० मा नेपालमा गएको महाभूकम्प भन्दा शक्तिशाली भूकम्पको जोखिम उक्त क्षेत्रमा रहेको ठान्छन्।

उनले भने, “विक्रम सम्वत् १५०५ को भूकम्प कत्रो हो भनेर जाँच्ने उपकरण त हामीसँग छैन। भुईँचालो गइसकेपछि चुरेको फेदमा सरेको चिरा हेर्दा २० मिटरसम्म जमिन सरेको पाइएको थियो। त्यसलाई विश्लेषण गर्दा त्यति बेला ८.५ देखि ८.७ म्याग्निट्यूडसम्मको भूकम्प गएको होला भनेका हौँ।”

त्यसबेला उक्त भूकम्पले भारतको दिल्लीमा रहेको कुतुबमिनारदेखि ल्हासासम्म क्षति पुर्‍याएको उनी बताउँछन्। विक्रम सम्वत् १९९० को भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपालको चैनपुरमा थियो त्यसकारण काठमाण्डू देखि भारतको विहारसम्म ठूलो क्षति भएको थियो।

भर्चूअल रीयालटी गेमले भूकम्प जाँदा मानिसलाई कसरी जोगाउन सक्छ
नेपाल भूकम्प: विगत ८०० वर्षमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो
उनले थपे, “५०० वर्ष भयो त्यस्तो भूकम्प नगएको त्यही भएर जोखिम छ भनेको हो। अब छ, पाँच वा चार म्याग्निट्यूडको त्यो पोखरी जस्तो १५०५ सालको भूकम्पको शक्ति छ, त्यहाँबाट दुई चार बाल्टिन पानी निकाले जस्तो हो। त्यसले केही हुँदैन।”

राष्ट्रिय भूकम्प मापन केन्द्रका अधिकारी पनि मझौला वा साना खालका भूकम्पले ठूलो भूकम्पको जोखिमलाई कम नगर्ने बताउँछन्।

उनी भन्छन्, “एक रिक्टर स्केलको फरक पर्दा खेरी त्यसको शक्तिमा ३२ गुणा फरक पर्छ। त्यसको अर्थ पाँच रिक्टर स्केलको भूकम्प जानका लागि जति शक्ति चाहिन्छ, ६ रिक्टर स्केलको भूकम्पका लागि ३२ गुणा बढी शक्ति चाहिन्छ। त्यही हिसाबले पाँचसँग तुलना गर्दा ७ म्याग्निट्यूडकाका लागि १ हजार गुणा बढी शक्ति चाहिन्छ।”

उनले थपे, “आठको भूकम्प जानसक्ने सम्भावना अनुसन्धानले देखाएको छ भने ७ को ३२ वटा गइदियो भने त्यो सकिनसक्ने भयो। ६ को मात्रै जाने हो भने हजार वटा जानुपर्ने हुन्छ।”

भूकम्प मापन केन्द्र
उप्रेती पश्चिम नेपालबाहेक पूर्वी नेपालमा पनि ठूलो भूकम्पको जोखिम रहेको उल्लेख गर्दै पूर्वतयारीमा जोड दिनुपर्ने बताउँछन्।

उनले भने, “कोशीपूर्व सिक्किम-दार्जिलिङसम्म १,३०० वर्षसम्म ठूलो कुनै भूकम्प गएको छैन। हिमालयमा त्यत्रो वर्ष भूकम्प नगएको ठाउँ अत्यन्तै खतरनाक हुन्छ।”

पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर विक्रम संवत् १२५५ मा ८ म्याग्निट्यूडभन्दा बढीको भूकम्प गएको बताइन्छ।

विक्रम संवत् १२५५ को भूकम्पमा राजा अभय मल्लको मृत्यु भएको मानिन्छ। उक्त महाभूकम्पले त्यतिखेरको नेपालको एकतिहाइ भाग ध्वस्त पारेको ठानिन्छ।

गोरखा भूकम्प शृङ्खलाको अध्ययनले सिकाएका कुराहरू
भूकम्प आएको पत्ता लगाउन सक्ने मोबाइल फोन
अधिकारीले कहिले ठूलो भूकम्प जान्छ भनेर भन्न नसकिने भएपनि “जति ठूलो अन्तरालमा भुइँचालो जान्छ त्यो त्यति नै बढी शक्तिशाली हुने” बताए।

नेपाल भूकम्प
विज्ञहरूले कस्ता सुधारमा जोड दिएका छन्?
म्याग्निट्यूड आठ वा त्योभन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ।

आठ वा त्योभन्दा बढी म्याग्निच्युडको भूकम्पले केन्द्रबिन्दु वरपरका क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त गरिदिने सामर्थ्य राख्ने बताइन्छ।

विज्ञहरूले कमजोर भौतिक संरचनाका कारण भूकम्पबाट ठूलो जनधनको क्षति निम्त्याउने गरेको भन्दै त्यसमा सुधार गर्नुपर्ने धारणा राख्दै आएका छन्।

भूकम्प मापन केन्द्रका अधिकारीले जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पका कारण भएको क्षति पनि कमजोर भवनहरूका कारण भएको बताए।

उनले भने, “९० प्रतिशतभन्दा बढीको मृत्यु भूकम्पमा हामीले बनाएको भवन अर्थात् संरचना भत्किएर हुने गर्छ। हामीले संरचनाहरू बलियो नबनाएसम्म हामी कहिल्यै पनि सुरक्षित हुन सक्दैनौँ।”

नेपालमा कहाँकहाँ छ ठूलो भूकम्प जाने जोखिम
चीलेजस्ता भूकम्पको उच्च जोखिम भएका देशहरूले भुइँचालोसँग जुझ्न बलिया भवनहरू बनाउने गरेको उल्लेख गर्दै उनले नेपालले पनि त्यस्ता पूर्वाधारहरू बनाउनुपर्ने बताए।

उनले कमजोर खालका घरहरूलाई बलियो घरहरूले विस्थापित गर्न सरकारले अभियान चलाउनुपर्ने उल्लेख गर्दै सरकारले त्यसका लागि अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।

खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीको तालिम र भूकम्पसँग सम्बन्धित पूर्व चेतावनी प्रणालीमा सरकारले लगानी बढाउनुपर्ने उप्रेतीजस्ता विज्ञको मत छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top