काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ०८२ सालभित्र ‘लिडरसिप एकेडेमी’ र ‘उम्मेदवार क्लब’ बनाउने भएको छ ।
हिजो सकिएको महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारितमा एकेडेमी र क्लब निर्माण गर्ने कुरा उल्लेख गरिएको छ ।
“पुराना दलको खाराब पात्र र प्रबृत्तिलाइ पार्टीमा निषेध गर्न र त्यस्ता पार्टीभित्र बिनाकारण निषेध गरिएका असल कार्यकर्तालाई टिममा ल्याउन यी दुइ अवधारणालाइ लामिछानेले प्रतिवेदनमा स्थान दिएका छन् ।
एकेडेमीबाट प्रशिक्षित नभएको व्यक्ति कुनै पनि तहको उमेदवार बन्न नपाउने प्रतिवेदनमा उल्लेख छ ।
लिडरसिप एकेडेमीले प्रशिक्षत गरेर सक्षम नेता उत्पादन गर्नेछ भने एकेडेमीबाट नेतालाई सबै कुराको प्रशिक्षण दिइनेछ,” प्रतिवेदनमा भनिएको छ, “लिडरसिप एकेडेमीबाट प्रशिक्षणको प्रमाणीकरण नभएका कुनै पनि व्यक्तिले कुनै पनि तहमा उमेदवारी दिन पाउने छैनन् ।”
लिडरसिप एकेडेमी मूलतः अनलर्निङ एकेडेमी हुने र “जहाँ पढ्ने मात्र होइन, सिक्ने र गलत सिकाइलाई बिर्सने कार्य हुनेछ,
प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै उमेदवार क्लब अन्तर्गत पहिलो चरणमा ०८४ सालको स्थानीय तह निर्वाचनमा पालिका र वडा तहका उमेदवार छान्ने गरी उम्मेदवार क्लब बनाइने उल्लेख छ । पहिलो चरणमा देशभरका पालिका र वडा तहमा उमेदवार बन्न चाहने व्यक्तिले उमेदवार क्लबमा आवेदन दिन सक्ने बताइएको छ ।
“पाँच चरणको चयन प्रक्रियामा अहिलेका वडा र पालिका संयोजकहरूले भने केवल चौथो र पाँचौँ चरणमा मात्र प्रतिस्पर्धा गर्ने सुविधा पाउनेछन् । पार्टीबाहिरको हकमा सबै चरण पार गर्नुपर्नेछ,” सभापतिको प्रतिवेदनमा भनिएको छ, “यसो गर्दा योग्य मानिस कोही पनि छुट्दैनन्, पार्टीमा लागिसकेकाहरूको प्राथमिकता पनि सुनिश्चित हुन्छ । प्रतिस्पर्धाचाहिँ अनिवार्य गरिनेछ ।”
उमेदवार क्लबको कार्यविधि छिट्टै सार्वजनिक गरिने प्रतिवेदनमा उल्लेख छ ।