जाजरकोटमा गत महिना गएको भूकम्पका लाभग्राही ५९ हजार एक सय ६२ कायम गरिएको छ । भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले सो सङ्ख्यामा लाभग्राही कायम गरेका हुन् ।
भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्ला (जाजरकोट, रुकुमपश्चिम, बझाङ, बजुरा र सल्यानमा रु एक अर्ब ४१ करोड रकम निकसा भइसकेको छ।
जिल्लामा भूकम्पपीडितले सबै रकम अझै प्राप्त गर्न सकेका भने छैनन् । निकासा रकममध्ये आजसम्म रु एक अर्ब, चार करोड आठ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको छ।
स्थानीय तहले कायम गरेका लाभग्राहीमध्ये १० हजार एक सय ५३ लाभग्राहीले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन् । सम्झौता गरेका ती लाग्राहीलाई स्थानीय तहले रु २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराएको छ ।
रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा दुई हजार चार सय २३ र सल्यानमा ४० गरी दुई हजार चार सय ६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बस्न थालेका छन् ।