एक नेपालि विद्यार्थीले बनाएको एप ७० लाखमा बिक्रि

Facebook
Twitter
WhatsApp

काठमाडौं । एक नेपाली युवा डेभलपरले बनाएको मोबाइल एप करिब ७० लाख रुपैयाँमा बिक्री भएको छ । बर्दिया बाँसगढी-५ का कर्णबहादुर बुढा क्षेत्रीले बनाएकाे एन्ड्राेइड एप पिक अप लाइन्स – फ्लर्ट मेसेजेज् (Pickup Lines- Flirt Messages) हालै याे रकममा बिक्री भएकाे हाे ।

क्षेत्रीले इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई ५३ हजार डलर (करिब ७० लाख रुपैयाँ)मा याे एप बेचेका हुन् । उनका अनुसार यो एपले साथीभाइ/आफन्तसँग मिठा, रमाइलो, सम्झनलायक कुराकानी गर्न सहयोग गर्छ । यसका लागि एपमा पिकअप लाइनहरूको संग्रह राखिएको छ ।

एन्ड्रोइड ५.१ भन्दा माथिको भर्सनमा चल्ने यो एपलाई कर्णले गत वर्ष अर्थात् २०२२ नोभेम्बर महिनामा गुगल प्ले स्टोरमा अपलोड गरेका थिए । तर छोटो समयमा नै एपलाई धेरैले मन पराएपछि डाउनलोड सङ्ख्या पनि ह्वात्तै बढेको उनले सुनाए ।

एपभित्र चिजी, रोमान्टिक, क्युट, फन्नी आदि क्याटगोरीका पिकअप लाइन रहेका छन् । जसलाई सजिलै कपि गरेर एसएमएस, ईमेल अथवा मेसेन्जरमा प्रयोग गर्न सकिने उनले जनाए । एप खरिद गर्ने इजरायली कम्पनी राउन्ड्स एआईले अक्टोबर महिनामा उनलाई खरिदको प्रस्ताव पठाएकाे उनले बताए ।

“विशेष गरेर अफ्रिका र युरोपका प्रयोगकर्ताहरू एपमा बढिरहेका थिए । आम्दानी क्रमश: बढिरहेको थियो,” उनले अगाडि भने, “सोही समयतिर राउन्ड्स एआईले २५ हजार डलरमा एप किन्ने प्रस्ताव गर्‍याे ।”

एप खरिदको प्रस्ताव आएपछि स्क्याम जस्तो लागेर कम्पनीबारे अध्ययन गरेको र पछि वास्तविक भएको पत्ता लागेपछि छलफल अगाडि बढाएको कर्णले सुनाए । “एपलाई ८ लाख बढीले डाउनलोड गरिसकेका थिए । त्यस्तोमा किन्छुभन्दा शंका लागेको थियो । पछि कम्पनीबारे अध्ययन गरेपछि ढुक्क भएँ । अनि खरिदबिक्री सम्बन्धीको कुरा अगाडि बढ्यो,” उनले भने ।

त्यसपछि केही समयको कुराकानीमा राउन्ड्स एआई ५३ हजार डलर (करसहित) मा एप खरिद गर्न १४ नोभेम्बर (कात्तिक २९) मा राजी भएको उनले बताए ।

“मैले जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज प्रयोग गरेर यो एप बनाएको थिएँ । एपको डाउनलोड अर्ग्यानिक (विज्ञापन नगरी प्राप्त भएको) थियो । एपको विज्ञापनमा लगानी शून्य थियो । एपमा कुनै कानूनी समस्या थिएन । रेभेन्यू दिनानुदिन बढिरहेको थियो । एप बिक्री गर्नुभन्दा एक महिना अगाडिको तुलनामा दुई गुणाले आम्दानी बढेको थियो । यिनै कारण मेरो एप त्याे कम्पनीले किनेको हुन सक्छ,” उनले भने ।

अहिले उनले एप इजरायली कम्पनीलाई हस्तान्तरण गरिसकेका छन् । साथै डिसेम्बर ८ (मंसिर २२) सम्ममा एप बेचेबापतको पैसा उनले पाइसकेका छन् । एप खरिद गर्ने कम्पनीले एप किनबेच गरिरहने भएकाले केही समय लागेको उनले सुनाए ।

हाल कर्ण ललितपुरस्थित युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा तेस्रो वर्षमा अध्ययनरत छन् । एसईईपछि सीटीईभीटीको तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ अध्ययन गरेका उनी २०२० देखि एन्ड्रोइड एप डेभलपमेन्टमा लागेका थिए । सोही समयमा अर्को साथीसँग मिलेर ‘काकी डेभलपर’ मार्फत एप बनाउँथे । केही कारणवश साथी छुट्टिए । तर उनले सोही नाममार्फत एप बनाउने र प्ले स्टोरमा अपलोड गरिरहे ।

अहिलेसम्म उनले प्ले स्टोरमा दुई दर्जन बढी एप अपलोड गरिसकेका छन् । उनी नेपालकाे प्रविधि क्षेत्रमा योगदान दिने सोचमा छन् । यसअघि फ्रिल्यान्सिङ प्लेटफर्म अपवर्कमा समेत सक्रिय उनी विदेश जानुनपर्ने, बरु नेपालमै काम गरेर आम्दानी गर्न सकिने धारणा राख्छन् ।
टेकपानाबाट

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top