काठमाडौं : पछिल्लो डाटा अनुसार मोबाइल फोन प्रयोग गर्ने नेपालीको संख्या ९३ प्रतिशत पुगेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार टेलिफोन एवं मोबाइलको प्रयोग गर्ने नेपालीको संख्या ९३.५५ प्रतिशत पुगेको हो। यो सगै कम्प्युटर प्रयोगकर्ताको संग्ख्या भने न्यून छ।
तथ्यांक अनुसार सन् २०११ मा ०.८२ प्रतिशत घरमा कारको प्रयोग हुँदा सन् २०२३ मा १.८५ प्रतिशत घरमा कार छ। यो अवधिमा कम्प्युटर ६.०३ घरबाट ८.७७ घरमा उपलब्ध रहेको तथ्यांक छ।
सन् २०११ मा ९.१८ प्रतिशत घरपरिवारमा बाइक हुँदा अहिले २५.१५ प्रतिशत घरमा उपलब्ध छ। रेफ्रिजेरेटरको प्रयोग ८.६१ प्रतिशत घरधुरीबाट बढेर २६.८९ प्रतिशत घरधुरीमा प्रयोग भएको छ। पंखाको प्रयोग ३३.९७ प्रतिशतबाट बढेर ६०.८५ प्रतिशत घरधुरीमा पुगेको छ।
९४ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको सर्वेक्षणले देखाएको छ। घरबाट औसतमा नजिकको अस्पतालको दूरी ९.३ किलोमिटर र पक्की रोडमा पुगिने औसत दूरी घरबाट ४.१६ किलोमिटर रहेको छ।
सर्वेक्षणले खाद्य गरिबीको सीमा ३५ हजार २९ रुपैयाँ र गैरखाद्य गरिबीको सीमा ३७ हजार ८७९ रुपैयाँ देखाएको छ।
समग्र गरिबीको सीमा भने ७२ हजार ९०८ रुपैयाँ पुगेको छ। जसअनुसार गरिबीको रेखामुनि रहेको जनसंख्या २०.२७ प्रतिशत पुगेको छ।
गरिबी दर सहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत रहेको छ। गरिबीको विषमता भने ४.५२ प्रतिशत रहेको छ।