१४ जेठ २०८१, सोमबार

सुन तस्करमा महरा सहित ७ जनालाई मुद्दा चलाइदै

Facebook
Twitter
WhatsApp

काठमाडौँ । ६० किलो सुन र भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले थप ७ जनालाई पूरक अभियोग लैजान सिफारिस गरेको हो ।

आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्सलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ । ठमेलस्थित चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ ।

मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ । जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।

गुरुङ अहिले१४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा छन् । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । उनको संलग्नता ६० किलोमा पनि देखिएको आयोगको जाँचबुझ निष्कर्ष छ ।

यस्तै सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सहित ४ प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा सो सिफारिस गरेको हो । त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

६० केजी सुन र भेपमा उनीहरुले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ । ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले जाँचबुझ गरेर प्रतिवेदन बुझाएको छ ।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top