खाना पकाउने ग्यासमा फेरी दुइ थरि मूल्य निर्धारण गरिने भएको छ। सर्वसाधारणको तुलनामा उद्योगी, होटल व्यवसायीलाई सस्तो मूल्य परेपछि नेपाल आयल निगमले दोहोरो मूल्य लागू गर्ने गृहकार्य थालेको हो । अहिले एक ग्यास सिलिन्डरको भ्याटसहित खुद्रा बिक्री मूल्य १९१० रुपैयाँ तोकिएको छ ।
ग्यासमा लाग्दै आएको भ्याट होटल, रेस्टुराँ, औद्योगिक प्रयोजनमा खपत गर्ने व्यवसायीले भने फिर्ता पाउँछन् तर सर्बसाधारण उपभोक्ताले भने फिर्ता पाउँदैनन् । आम सर्वसाधारणलाई राहत दिनुपर्नेमा होटल, रेस्टुराँ र औद्योगिक प्रयोजनका व्यवसायीलाई बढी सुविधा मिलेपछि दोहोरो मूल्य लागू गर्न गृहकार्य भएको हो ।
एलपी ग्यास उद्योग संघका अनुसार मुलुकभर ५९ ग्यास उद्योग छन् । ती उद्योगमा करिब डेढ करोड ग्यास सिलिन्डर छन् । मासिक करिब ३३ लाख सिलिन्डर खपत हुन्छ । उपलब्ध सिलिन्डर संख्यामध्ये करिब ७० प्रतिशत घरायसी र ३० प्रतिशत व्यावसायिक प्रयोजनमा खपत हुन्छ । व्यावसायिक प्रयोजनमा प्रयोग हुने लाखौं सिलिन्डरबाट भ्याट रिफन्ड आए पनि सर्वसाधारणले छुट पाएका छैनन् । यही विषयलाई दृष्टिगत गर्दै निगमले ग्यासमा फेरि दोहोरो मूल्य लागू गर्न खोजेको जनाएको छ ।
ग्यासकै कारण प्रतिसिलिन्डर ३ सय २५.९ रुपैयाँ घाटा रहेको निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत बताउँछन् । १५ दिनमा करिब ५३ करोड नोक्सान भएको छ ।
यसअघि पनि निगमले रातो र नीलो सिलिन्डर लागू गर्ने योजना नबनाएको होइन तर त्यो विफल भयो । करिब दशकअघि निगमले उपभोक्ता कार्ड कार्यान्वयन गर्ने योजना बनाएको थियो । तत्कालीन आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग, कलकारखाना, होटललाई नीलो र घरायसी प्रयोजनका लागि रातो सिलिन्डर प्रयोगमा ल्याउने बताएका थिए ।
त्यसका लागि ग्यास कार्ड छापिइसकेको थियो । कार्ड छाप्न ग्यास विक्रेता महासंघले निगमबाट करिब ८० लाख रुपैयाँ लिएको थियो । कार्ड छपाएपछि निगमले ६ लाख २० हजार कार्डको प्रमाणीकरण गरी ग्यास विक्रेतालाई दिइसकेको थियो । ग्यास विक्रेताले सर्वसाधारणसँग प्रतिकार्ड १० रुपैयाँमा बिक्री गरी ६२ लाख रुपैयाँ असुलिसकेका छन् । तर कार्ड लागू भएन, सर्वसाधारणको पैसा पनि फिर्ता भएन ।