१४ जेठ २०८१, सोमबार

नुवाकोटमा संचालित औषधि पसलहरु धेरैजसो मापदण्ड बिपरित

Facebook
Twitter
WhatsApp

बिदुर : नुवाकोटमा संचालित अधिकांश औषधि पसल मापदण्डविपरीत रहेको अनुगमनमा भेटिएको छ। स्थलगत छड्के अनुगमनका क्रममा औषधि पसलहरु मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो। अनुगमनपछि यस्ता पसलहरु सिल गरिएको छ।

विदुर नगरपालिकाभित्र सञ्चालित औषधि पसलहरुमा जिल्ला बजार अनुगमन समितिले औषधि व्यवस्था विभागका प्राविधिकसहितको टोलीले गरेको संयुक्त अनुगमनको क्रममा अधिकांश औषधि पसलहरुले स्वास्थ्य सेवाका आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएको हो। विदुर नगरपालिकामा सञ्चालित १९ वटा औषधि तथा फार्मेसी पसलहरुले मापदण्डको पालना नगरेको पाइएको हो।

औषधिको भण्डारणमा ब्यापक मनोमानी गरेको पाइएपछि कोलोनीमा दुई, विदुर र देवीघाटमा रहेको एक-एक फार्मेसीमा ताला लगाइएको हो।

औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाणपत्र राखेर अर्कैले फार्मेसी चलाएको, दर्ताविना नै चलाइएको पाइएको, बिलमा म्याद सकिने मिति, ब्याच नम्बर उल्लेख नभएको, औषधि पसलमा हुनुपर्ने सरसफाई नपाइएको, औषधि भण्डारण स्थल र औषधि राख्ने फ्रिजमा गैह्र औषधि राखिएको पाइएको थियो।

मापदण्ड विपरीत रहेको विदुर ९ बाघटारमा रहेको अनुप मेडिकल हल, पिपुल्स च्वाइस फार्मेसी, विदुर २ विदुर बजारमा रहेको स्टार अस्पताल फार्मेसी र विदुर ५ देवीघाटमा रहेको जालपा मेडिकल हलमा ताला लगाइएको छ। ती औषधि पसल तथा फार्मेसीमा दर्तावाल नभइ असम्बन्धित व्यक्ति भेटिएको र औषधि व्यवस्था विभागमा दर्ता नभइ औषधिको बेचबिखन गरेको पाइएपछि ताला लगाइएको औषधि व्यवस्था विभागले जनाएको छ।

कोलोनी बाघटारमा रहेको नुवाकोट जिल्ला अस्पताल त्रिशूली परिसरमा सञ्चालित साझा स्वास्थ्य सेवा फार्मेसी दर्ता नवीकरण नभएको पाइएको छ। औषधि व्यवस्था विभागका प्राविधिकसहितको टोलीले १९ वटा औषधि पसल तथा फार्मेसी अनुगमन गरेको हो।

अनुगमनका क्रममा तत्काल सुधार गर्नु पर्नेलाई सुधार गरिहाल्न निर्देशन दिइनुका साथै अधिकांश औषधि पसल तथा फार्मेसीलाई आवश्यक सक्कल कागजातसहित तीन दिनभित्र औषधि व्यवस्था विभागमा आउन विभागको टोलीले पत्र काटेको छ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top