यतिखेर कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी हिजो देखि दुइ दिने नेपाल भ्रमणमा छन्। यसैबीच आज नेपाल र कतारबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंको होटल सोल्टीमा बुधबार बिहान नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो ।
नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपालका तर्फबाट कानूनमन्त्री पदम गिरीले सम्झौतामा हस्ताक्षर गरे ।
यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका थिए ।
सोल्टीको द्विपक्षीय वार्तापछि प्रधानमन्त्री प्रचण्डले कतारी अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्।
नेपालको राजकीय भ्रमणमा आएका कतारी राजा अमिर आजै स्वदेश फर्कनेछन् । यसअघि हिजो मंगलबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए ।