पोखरा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालोझण्डा देखाएर सहकारीका पीडित बचतकर्ताले गल्ती गरेको टिप्पणी गरेका छन्।सहकारी पीडितको पक्षमा रहेको सरकारलाई नबुझिकन बचतकर्ताले कालोझण्डा देखाएको उनको भनाइ छ। नेकपा (माओवादी केन्द्र) गण्डकीले बुधबार पोखरा सभागृहमा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा आएका प्रचण्डलाई सहकारी पीडितले कालोझण्डा देखाएका थिए। कालोझण्डा देखाउने पीडित १३ बचतकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
पार्टीको प्रशिक्षणको क्रममा प्रचण्डले सरकार पीडित बचतकर्ताकोे पक्षमा रहेको उल्लेख गरे। सरकारले ल्याएको आगामी आर्थिक वर्षकोे बजेटमा समस्याग्रस्त सहकारीमा ५ लाख रुपैयाँसम्मको बचत गरेका बचतकर्ताको रकम फिर्ता गर्ने उल्लेख गरेको उनको भनाइ थियो।
‘त्यहाँ बाहिर अघि कालो झण्डा देखाएका सहकारी पीडितहरुलाई म भन्न चहान्छु तपाईहरुले नबुझिकन कालो झण्डा देखाउनुभो। जून सरकार तपाईहरुको पक्षमा लडिरहेको छ र भर्खरैै पाँच लाखको दरले तपाईहरुको बचत फिर्ता लिने जिम्मा लिएको छ। त्यो सरकारलाई कालोझण्डा देखाउनु तपाईहरुले ठूलो ब्लन्डर गर्नुभो। यस्तो कुबुद्धितिर नलाग्नुहोला तपाईहरुको पक्षको सरकारलाई।’
पटक पटक समस्या समाधानका लागि अनुनय विनय गर्दा पनि पहल नभएपछि बाध्य भएर कालोझण्डा देखाएको सहकारी बचत पीडित संघर्ष समिति कास्कीका संयोज किरण श्रेष्ठले बताए। ‘शान्तिपूर्ण विरोध गरौं भनेर सभागृहमा कालोझण्डा देखाएका थियौं। प्रहरीले अमानवीय व्यवहार देखाएर दमन ग¥यो’, उनले भने।