कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेका १४ वटा खच्चड पुलमै फसेका छन्।
आइतबार बिहान करिब १० बजेको समयमा सामग्री बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएको खबर आएपछि अहिले उद्धार कार्य अघि बढाइएको दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए।
दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको कोइरालाले बताए।
अहिले नजिकका इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू घटनास्थलमा पुग्ने क्रम रहेको कोइरालाले बताए।
‘हामीले अछामका प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय गरेर उताबाट पनि सुरक्षा अधिकारीहरूलाई समन्वयका लागि भनेका छौँ,’ उनले भने, ‘अबको केहीबेरमा उद्धार सुरु हुन्छ।’
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालका अनुसार, खच्चरहरू पुलमाथि हिँडिरहेको अवस्थामा खच्चरको खुट्टा पुलको जालीमा खड्किएपछि पुल कोल्टिँदा खच्चरहरू पुलमै अलपत्र परेका हुन्।
अछाम जिल्लाको विनायक नगरपालिका र दैलेख जिल्लाको आठबीस नगरपालिका–४ खिड्कीज्युला नजिक कर्णाली नदीमाथि बनेको झोलुङ्गे पुलमा खच्चरहरू फसेका हुन्।