धनगढी, १७ साउन । धनगढीमा अस्पताल बनाउने भन्दै झुक्काएर बनाइएको चर्च भत्काइएको छ ।
धनगढी उपपमहानगरपालिकाले चर्च भत्काएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा अस्पताल बनाउने भन्दै सरकारी जग्गा भाडामा लिएर चर्च बनाइएको पाइएको थियो । यस्तै चर्चको दोस्रो तलामा दुई कोठा, एक भान्सा र दुई चर्पीसहित स्नानकक्ष नक्सापासबिना निर्माण गरेको पाइएको छ।
स्थानीयस्तरबाट जनगुनासो बढेपछि उपमहानगरपालिकाको कार्यालयबाट गठित स्थलगत अध्ययन समितिले केही संरचना अवैध रहेको निष्कर्ष निकालेको थियो। व्यवसाय र तालिम सेमिनार सञ्चालनका लागि अनुमति लिएको नवनिर्मित दुईतले भवनमा त्योभन्दा फरक कार्य हुन थालेको पाइएपछि वडा कार्यालयले लेट मी इन धनगढी प्रालि र नेपाल लाइफ वर्ल्ड मिसनको व्यवसाय दर्ता पनि खारेज गरिदिएको छ।
लेट मी इनले नवनिर्मित भवनमा सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालनका लागि २०८० साउन २२ गते वडा कार्यालयमा व्यवसाय दर्ता गरेको थियो। त्यस्तै नेपाल लाइफ वर्ल्ड मिसनले सेमिनार, तालिम आदि सञ्चालन गर्ने भन्दै २०८१ वैशाख १६ मा वडा कार्यालयमा व्यवसाय दर्ता गरेको थियो।
यी दुई वटै संस्थाले दर्ता गरेकोभन्दा विपरीत त्यस भवनमा इसाई धर्मावलम्बीको मण्डली सञ्चालन गरिएको पाइएको हो। सरकारी निकाय र आसपासका सर्वसाधारणसमेतलाई झुक्याएर मण्डली सञ्चालन गरिएपछि स्थानीय आक्रोशित बनेका छन्।
छालाको अस्पताल सञ्चालन गर्ने भनेर बनाइएको भवनमा चर्च सञ्चालन गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्। स्थानीय र मण्डलीका व्यक्तिबीच विवाद बढेपछि अभद्र व्यवहार मुद्दामा कैलाली प्रहरीले मण्डलीका धनगढी उपमहानगरपालिका–८ बस्ने ४७ वर्षीय वीरबहादुर डङ्गौरा, स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २४ वर्षीय पुकार विक र सोलुखुम्बु दुधकोशी गाउँपालिका–७ का ३४ वर्षीय प्रेमदोर्जे राईलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सार्वजनिक स्थानमा वादविवाद, हातपात, अभद्र व्यवहार गरेको भन्दै स्थानीय राजेन्द्र चन्दले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।