बाङ्ग्लादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने युनुस को हुन् ?

Facebook
Twitter
WhatsApp

काठमाडौं । लामो समयदेखि बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई देशको अन्तरिम नेता नियुक्त गरिएको छ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि बाङ्ग्लादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न अघि सारिएको हो। राष्ट्रपतिले मङ्गलवार संसद् विघटन गरेका छन्।

हाल ८४ वर्षका युनुसलाई अन्तरिम प्रधानमन्त्री बनाउन कैयौँ सातादेखि आन्दोलन गरिरहेका विद्यार्थी नेताहरूले समर्थन गरेका छन्।पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बाङ्ग्लादेशबाट पलायन भएपछि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए। गत ज्यानुअरीमा भएको निर्वाचनपछि गठित संसद्‌बाट हसिना पुनः प्रधानमन्त्री बनेकी थिइन्।

विद्यार्थीले सुरु गरेको आन्दोलन हिंसात्मक हुँदा बाङ्ग्लादेशमा ४०० जना भन्दा धेरैको मृत्यु भएको थियो। विद्यार्थी नेताहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका थिए।

विद्यार्थीहरूले बाङ्ग्लादेशमा प्रजातन्त्र पुनर्स्थापना र सन्तुलनमा ल्याउन सक्ने ठानेका यी सामाजिक उद्यमी को हुन् ?
मोहम्मद युनुसले सन् १९७० को दशकमा लघुवित्तको थालनी गर्ने व्यक्तिको परिचय बनाए। उनले आरम्भ गरेको लघुवित्तको अवधारणाले देशका कतिपय मानिसहरूलाई गरिबीको चरम अवस्थाबाट माथि उठ्न सहयोग पुग्यो।

चटगाउँ विश्वविद्यालय नजिकैको गरिब गाउँमा घुम्न गएको समयमा उनी लघुवित्तको अवधारणाबाट प्रेरित भएका थिए। उनले केही दर्जन गाउँलेहरूलाई थोरैथोरै पैसा दिएर लघु व्यवसायको उद्यमी बन्न प्रस्ताव गरे। उनले एक पटकमा १०० डलरभन्दा कम मात्र पैसा दिए जुन परम्परागत ब्याङ्कहरूले दिने गरेका थिएनन्।

उनको सहयोगमा सुरु गरिएका स्थानीय लघु उद्यमहरू निकै छिटो फस्टाए। सन् १९८०को दशकमा त्यसमा दशौँ हजार मानिसहरू सदस्य भए र त्यो ग्रामीण ब्याङ्क भयो।यो ब्याङ्कले बाङ्ग्लादेशभरि व्यापक परियोजनाहरू सुरु गर्‍यो त्यसमध्ये केही नाफामुखी र केही गैर नाफामुखी थिए। उक्त ब्याङ्कको लगानीमा सुरु भएका परियोजनाहरूमध्ये कुनै कपडा उद्योग कुनै मोबाइल टेलिकम सम्बन्धी र केही ब्रोडब्यान्ड इन्टरनेट सम्बन्धी थिए।

आफ्नो कामको सफलता र अन्तर्राष्ट्रिय स्तरबाट पाएको मान्यताले युनुसलाई पछ्याइरहे। जसको परिणाम आफ्नो वित्तीय योगदानको लागि सन् २००६ मा उनले नोबेल शान्ति पुरस्कार पाए। उनले चर्चामा ल्याएको उक्त अवधारणा अरू विकासोन्मुख देशहरूका लागि पनि नमुना परियोजना बनेका थिए।युनुसले नोबेल पुरस्कार पाएको महिनाबाटै आफ्नो राजनीतिक संलग्नता बढाउने काम गरे।

“म राजनीतिका लागि सहज मान्छे होइन,” उनले त्यस बेला भनेका थिए। “तर परिस्थितिले बाध्य बनाउँछ भने म राजनीतिमा आबद्ध हुन पनि पछि पर्दिनँ।”

तर राजनीतिक अस्थिरताका कारण निकै विभाजित देशमा सरकारको प्रखर आलोचक हुनु भनेको उनले शत्रु कमाउने यात्रा थियो।

सन् २००७ मा उनले नागरिक शक्ति नाम दिइएको राजनीतिक अभियानमा काम गर्न सुरु गरे। उनले यही अभियानबाट बाङ्ग्लादेशमा तेस्रो राजनीतिक शक्ति स्थापना गर्ने प्रयास गरेका थिए। तर यो अभियानलाई हसिना र उनकी प्रतिस्पर्धी बेगम खालेदा जियाले दशकौँसम्म माथि उठ्न नदिन प्रयत्न गरे।शक्ति सङ्घर्ष र प्रतिद्वन्द्वीताका कारण विचलित भएपछि उनले आफ्नो राजनीतिक यात्रा बीचैमा छोडे।

“म राजनीतिक व्यक्ति होइन। यो मैले पार लगाउने काम होइन,” उनले एएफपी समाचारसंस्थासँग भनेका थिए। “त्यसैले मैले तत्कालै आफूले राजनीतिक पार्टी नबनाउने घोषणा गरेँ।”

त्यसपछिका वर्षहरूमा उनको सरकारसँगको सम्बन्ध कटुतापूर्ण रह्यो। सन् २००८ मा शक्तिमा आएकी शेख हसिनाले उनलाई आफ्नो व्यवसायबाट गरिबहरूको “रगत चुसेको” आरोप लगाइन्।

हसिनाले बारम्बार युनुस ूगरिबहरूलाई चुस्ने परजीवीू भएको र उनले गरिबहरूलाई ऋण दिएर धेरै ब्याज लिने गरेको आरोप लगाएकी थिइन्।प्रधानमन्त्री हसिनाले युनुसमाथि शृङ्खलाबद्ध अनुसन्धानहरू पनि सुरु गरिन्। युनुस र उनका समर्थकहरूले त्यसलाई राजनीतिक प्रतिशोध भन्ने गरेका थिए।

गत जुन महिनामा बाङ्ग्लादेशको एउटा अदालतले युनुसले आर्थिक अपचलन गरेको ठहर गरेको थियो।उनले आफूविरुद्ध लागेको आरोपलाई अस्वीकार गरेका थिए। राजनीतिक दुराशयका कारण युनुसलाई मुद्दा हालिएको उनका समर्थकहरूको दाबी छ।

राजनीतिक प्रतिस्पर्धीलाई गरेको व्यवहारका कारण गत वर्ष संयुक्त राष्ट्रसङ्घले बाङ्ग्लादेशको सरकारलाई सचेत गराएको थियो। गत वर्ष विश्वका १७० भन्दा बढी नेतृत्वदायी व्यक्तित्वले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसमाथि भइरहेको उत्पीडन रोक्न बाङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग आग्रह गरेका थिए।

अन्तर्राष्ट्रिय स्तरमा गरिबका लागि ब्याङ्कका रूपमा परिचित प्राध्यापक युनुसले आफ्नो पक्षमा अन्तर्राष्ट्रिय समर्थन पाउँदै आएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top