काठमाडौं । गत असार २८ गते नारायणगढ-मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेको घटनाको अध्ययन गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।
प्रतिवेदनमा दुर्घटनास्थलभन्दा माथिल्लो भेगमा ग्रामीण सडक बनाउँदा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको उल्लेख गरिएको छ ।
कार्यदलले अध्ययनका क्रममा दुर्घटनामा बाँच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरेको थियो । दुर्घटनामा परेका दुईवटा बस अझै फेला परेका छैनन् भने २४ यात्रुको शव फेला परेको छ । अझै कम्तीमा ३८ यात्रु बेपत्ता छन् ।