काठमाडौं । सहकारी छानबिन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ । अहिले यो समाचार सबै सञ्चार माध्यमले प्रकाशन प्रसारण गरिरहेका छन् ।
धेरै सञ्चार माध्यमले सहकारी ठगीमा नै रवि दोषी ठहरिए भन्ने आशयका साथ समाचार सम्प्रेषण पनि गरेका छन् । तर वास्तविकता त्यो होइन । रवि लामिछाने दोषी ठहर भएका हुन् तर सहकारी ठगीको होइन उनी सहकारीबाट आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत खर्च गरेर अपचलन गरेको भन्दै दोषी ठहर गरेका हुन् ।
पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा रविको नाम जोडिएको छ। तर, समितिले सहकारीमा उनको संलग्नतासम्बन्धी कुनै कागजात फेला पार्न नसेकेको हो । उसो त रविले यसअघि नै आफू सहकारी ठगीमा संलग्न नरहेको दावी गर्दै आएका थिए । रवि जीवी राईले गोर्खा मिडियामा ल्याएको पुँजी परिचालनमा मात्रै देखिएको हो ।
रविले बयानमा पनि आफूलाई जीवीले कुन माध्यमबाट मिडियामा लागानी ल्याए त्यो आफूलाई थाहा नहुने बयान दिएका थिए । सोही अनुसार जीवीले सहकारी ठगी गरेर ल्याएको रकम मिडिया सञ्चालनमा प्रयोग गरेको मानेमा मात्रै उनी दोषी ठहरिएका हुन् ।