काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्रकुमार ठाकुरलाई ८ वर्ष कैद सजाय तोकेको छ।
मेलम्ची भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको विशेष अदालतले ठाकुरलाई आठ वर्षमा थप एक महिना कैद सहित १० करोड १० लाख जरिवाना गरेको हो।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सूर्यराज कँडेल र रामचन्द्र देवकोटालाई पनि गजेन्द्र ठाकुरलाई सरह नै कैद र जरिवाना तोकेको छ।
विशेष अदालतले परामर्शदाता शिवकुमार शर्मालाई आठ वर्ष कैद र २ करोड ९५ लाख रुपैयाँ बिगो सजाय सुनाएको छ। तर उनी ६५ वर्ष नाघेको देखिएको भन्दै विशेष अदालतले दुई वर्ष कैद छुट दिई छ वर्ष मात्रै कैद बस्नुपर्ने फैसला गरेको छ।
ठेकेदार कम्पनी इप्टिसालाई ६ करोड २१ लाख विगो फैसला गरेको छ। अर्को कम्पनी बीईटीएसलाई पनि त्यति नै बिगो सजाय भएको छ। ठेक्का पाएको अर्को कम्पनी सीएमसीबाट २६ करोड ११ लाख रुपैयाँ बिगो असुल्ने फैसला भएको छ।