काठमाडौं, ९ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीले बयानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नै सहकारी ठगीका मुख्य योजना भएको बयान दिएको भन्दै समाचार प्रकाशित भयो ।
कान्तिपुर पत्रिकाले आजको मुख्य पृष्ठमा नै छविलालले गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रवि कै हो भनेर बयान दिएको भन्दै समाचार लेख्यो ।
यो समाचार प्रकाशित भएपछि लामिछानेले कान्तिपुरको समाचारमाथि प्रश्न उठाउँदै लामो स्टाटस् लेखेका थिए ।
यसैबीच प्रहरी स्रोतले बाहिर समाचार आएजस्तो जोशीले कुनै बयान नदिनु भएको स्पष्ट पारेको छ । कास्की प्रहरी स्रोतका अनुसार जोशीले लामिछानेमाथि समाचारमा आए जस्तो आरोप लगाएका छैनन् ।
उनले संसदीय छानबिन समितिलाई दिएको बयानसँग मिल्दो जुल्दो बयान दिनुभएको स्रोत बताउँछ । अहिले प्रारम्भिक बयान चलिरहेकाले बाहिर आएजस्तो केही बयानमा नआएको र बयान सार्वजनिक गर्न नमिल्ने स्पष्ट पारेको छ ।
जोशीलाई प्रहरीले केही दिनअघि काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो । हिजोबाट उनको बयान चलिरहेको छ ।