काठमाडौं । पछिल्लो समय नेपालीहरू काम गर्न र अध्ययनका लागि जान रूचाउने देशमा जापान पर्छ । अहिले सयौँ नेपालीहरू अध्ययन र कामका लागि जापान पुग्ने गरेका छन् । तर भाषा र सीप नहुँदा कति नेपालीले जापानमा दुःख पनि पाउने गरेका छन् ।
भाषा र सीप नहुँदा जापान गएका नेपाली कामदार र विद्यार्थीले सास्ती व्यवहोर्नु परिरहेको हो । यही नेपालीहरूको दुःख, समस्यालाई मध्यनजर गर्दै काठमाडौंमा जापानीज् ट्रेनिङ एण्ड भोकेशनल कलेज (तोकुतेइ गिनोउ इकुसेइ) स्थापना गरिएको छ ।

काठमाडौंको सुकेधारामा खुलेको कलेजको बिहीबार उद्घाटन भएको हो । कलेजको जाइका नेपाल प्रमुख माचुजाकी मिजुकीले उद्घाटन गरेका हुन् । जापान जाने विद्यार्थी र नेपाली कामदारको संख्या बढिरहँदा भाषा र शिपयुक्त जनशक्ति निर्माण गर्ने उद्देश्यले कलेजको स्थापना गरिएको कलेजका संचालक राजेन्द्र केसीले जानकारी दिए ।
‘विदेश जाने मान्छेले जुन देशमा जाँदै हुनुहुन्छ त्यो देशको भाषाको ज्ञान लिएर जाने, जुन कामको लागि जाँदै हुनुहुन्छ, त्यो कामको शिप लिएर जाँदा राम्रो हुन्छ, दक्ष जनशक्तिनै विदेशमा काम लाग्ने हो, त्यही भएर हामीले भाषा र दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यले यो कलेज स्थापना गरेका हौं,’ निर्देशक महेशकुमार श्रेष्ठले भने, ‘जापान जानेलाई भाषादेखि लिएर त्यहाँ गर्ने काममा समस्या नहोस् भनेर हामीले यो कलेज स्थापना गरेका हौं ।’
सरकारसँग अनुमति लिएर र समन्वय गरेरै आफूहरुले कलेज स्थापना गरेको बताउँदै आफूहरुको भाषा र सीप सिकाएर दक्ष जनशक्ति उत्पान गर्ने रहेको उहाँको भनाइ छ ।

विभिन्न म्यानपावरबाट जापान जान खोज्ने कामदारहरु र विद्यार्थीहरूले यो कलेजमा आएर भाषा र सीप सिक्न पाउनुहुनेछ । यहाँबाट भाषा र सीप सिकेका जनशक्ति अन्य म्यानपावर कम्पनीमार्फत जापान जान सक्छन् ।
विगत दुई दशकदेखि पाँच जना अनुभवी सञ्चालकहरु रमेश देवकोटा, राजेन्द्र केसी, महेशकुमार श्रेष्ठ, अरुण पाण्डे र अमिता खड्गी जापानका विभिन्न शिक्षा भाषा र सीपसँग सम्बन्धित संस्थासँग आवद्ध छन्।
विगत दुई दशकदेखि शैक्षिक क्षेत्रमा आवद्ध पाँचै जना कलेज सञ्चाकले सुरु गरेको भाषा तथा सीप सिकाउने ट्रेनिङ सेन्टरबाट जापान जान चाहने जनशक्ति लाभान्वित हुने विश्वास लिइएको छ।
