काठमाडौं, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी पीडितको आन्दोलनमा ऐक्यवद्वता जनाएको छ ।
बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले यही मंसिर ५ गते सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ऐक्यबद्धता जनाएको हो ।
प्रवक्ता मनिष झाले आज विज्ञप्ति जारी गर्दै सहकारी समस्याको मूल कारण नै फितलो कानुन, भएको कानूनको इमान्दार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नु रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर रहेको उल्लेख गरेका छन् ।
रास्वपाले तयार पारेर प्रधानमन्त्रीलाई बुझाएको सहकारी एवं लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजनाु प्रतिवेदनमा पनि संस्थागत कुशासन, अपचलन गर्ने सहकारी सञ्चालकहरुको राजनीतिक संरक्षण लगायतका विषय प्रधानताका साथ उठाइएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
रास्वपाले बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको यस अभियानमा गैर-दलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं नेपाली नागरिकहरुमा अपिल गरेको हो ।
