काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारीको बचत रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको लिन बयान सकिएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंमा तीन दिन लगाएर लिइएको बयान सोमबार साँझ करिब ६ बजे सकिएको हो। उनको बयान सोमबार बिहान ११ बजेदेखि जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत हरि खतिवडाले लिएका हुन्।
मंसिर २ गते जिल्ला अदालत काठमाडौंले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंसिर १३ गते काठमाडौं ल्याइएको थियो। उनीसँग शुक्रबार, आइतबार र सोमबार बयान लिइएको हो। स्रोतका अनुसार बयानका लागि ७५ वटा प्रश्न तयार पारिएका थिए। जसक्रममा उनले आरोपको इन्कार गरे।
‘स्वर्णलक्ष्मीबाट मैले ऋण लिएको छैन। ऋण ल्याउने व्यक्ति अरू नै हुन्,’ उनले बयानमा भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो, ‘चेक पनि कम्पनी चलाउनका लागि गरिएको हो। कम्पनीको लागि काम गर्दा कतिपय चेकहरू काटेर खाली छोड्नुपर्ने स्थिति पनि थियो।’ लामिछानेको बयान सकिएपछि उनलाई पुनस् भोलि जिल्ला प्रहरी कार्यालय कास्की पठाउने प्रहरीको तयारी छ।