काठमाडौँ । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गर्नुभएको हो ।
यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ
वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले “पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम” मा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ ।यस परियोजना नेपालको विद्युतीय विवरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुने जनाइएको छ ।
यो परियोजना नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन गरिने र त्यसका लागि नेपाल विद्युत् प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता पनि हुने उल्लेख छ ।सम्झौताको कार्यान्वयन पाँच वर्ष भित्र अर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ ।