राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने जेलबाट छुटे लगत्तै चितवन गएर सम्बोधन गर्ने भएका छन्। उनले भोलि शनिबार २४ कोठीमा विशेष सम्बोधन गर्ने भएका हुन् ।
उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रुपन्देही जान लागेका छन् । यद्यपि मौसम खराबका बिमान अहिलेसम्म उडान हुन नसकेको सुनिएको छ। उनी जिल्ला अदालत, रुपन्देहीमा उपस्थित हुन जान लागेका हुन ।
धरौटी राख्ने रकमको बैंक ग्यारेन्टी तयारी भइसकेकाले आजै छुट्ने जनाइएको छ। जेलबाट छुटेपछि सिधैं चितवन जाने कार्यक्रम रहेको लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले जानकारी दिए।
शनिबार चितवनको २४ कोठीमा कार्यक्रम राखिएको छ। लामिछानेले कार्यक्रमलाई विशेष सम्बोधन गर्ने न्यौपानेले बताए।
त्यसपछि मात्रै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनले जानकारी दिए। समय भएमा शनिबार र नत्र आइतबार मात्रै काठमाडौँ फर्किने न्यौपानेको भनाइ छ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनले आफ्नो बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त गर्न उच्च अदालतमा निवेदन दिएका थिए। त्यसमा सुनुवाइ गर्दै उच्च अदालतको बुटवल इजलासले धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको हो।
अब आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोको बैंक ग्यारेन्टी बुझाएपछि रिहा हुने अदालतले जनाएको छ।