काठमाडौँ — निर्वाचन आयोगले २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाउने भएको छ । यता संसद् सचिवालयले नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रम १२ चैतमा राख्ने तयारी गरेको छ । सांसदको शपथपछि मात्र रास्वपाले संसदीय दलको नेता चुन्ने भएकाले नयाँ सरकार गठनमा समय लाग्ने देखिएको छ ।
आयोगले प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालयबाट बिहीबार अपराह्न ४ बजेको समय पाएको हो । त्यसपछि राष्ट्रपतिले निर्वाचन परिणाम प्रतिवेदन संसद् सचिवालयलाई पठाउनुपर्नेछ । राष्ट्रपति कार्यालय र संसद् सचिवालयले प्रतिवेदन प्राप्त गरिसकेपछि मात्र निर्वाचन परिणामले औपचारिकता पाउनेछ । आयोगको प्रतिवेदन राष्ट्रपति कार्यालयमार्फत पाएपछि मात्र संसद् सचिवालयले शपथसम्बन्धी प्रक्रिया अघि बढाउनेछ ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निर्वाचन परिणामको औपचारिक जानकारी सचिवालयलाई प्राप्त हुनासाथ शपथसम्बन्धी सूचना आह्वान गरिने बताए । उनका अनुसार सबै निर्वाचित सांसदलाई काठमाडौं आउन लाग्ने समय दिएर शपथको मिति तय गरिनेछ । शपथका लागि काठमाडौं आइपुग्न कम्तीमा एक साताको समय राखेर १२ चैतमा शपथग्रहण कार्यक्रम राख्ने गृहकार्य भएको उनले बताए ।
प्रतिनिधिसभा निर्वाचन ऐनले प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष निर्वाचित सांसदले शपथ लिनुपर्ने तोकेको छ । सभामुख र उपसभामुख निर्वाचित नभएको अवस्थामा प्रतिनिधिसभाको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संविधानको धारा ९१(५) मा उल्लेख छ । संसद् सचिवालयले निर्वाचन परिणामको प्रतिवेदन प्राप्त गरिसकेपछि ज्येष्ठ सदस्य पहिचान गर्नेछ । ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि उनले निर्वाचित भएर आएका सांसदलाई शपथ गराउनेछन् । नयाँ बन्दै गरेको संसद् भवनमा रहेको बहुउद्देश्यीय हललाई सांसदको शपथग्रहण समारोहका लागि तयार गरिँदै छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्न सामान्य बहुमतका लागि १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ । रास्वपा एक्लैको १ सय ८२ सांसद भएकाले उसले सुविधाजनक बहुमत पाएको छ । संविधानको धारा ७६(१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ ।
सरकार निर्माणका लागि रास्वपाले पहिला संसदीय दलको नेता छान्नुपर्छ । पार्टी प्रवक्ता मनीष झाले निर्वाचित सांसदले शपथ लिएपछि मात्र संसदीय दलको नेता छान्ने बताए । ‘पहिला शपथ त्यसपछि मात्र संसदीय दल गठन गर्ने स्वाभाविक प्रक्रिया हो,’ उनले कान्तिपुरसँग भने, ‘संसद्को शपथपछि मात्र सरकार निर्माण प्रक्रिया अघि बढ्नेछ ।’
नयाँ प्रधानमन्त्रीको नियुक्ति तथा सरकार गठनका लागि चैतको दोस्रो सातासम्म कुर्नुपर्ने उनले उल्लेख गरे । रास्वपाले भावी प्रधानमन्त्रीमा बालेन्द्र (बालेन) शाहलाई अगाडि सारेर चुनावमा होमिएको थियो । रास्वपाको विधानमा संसदीय दलको नेता पार्टीका सम्पूर्ण सदस्यहरूको मतदानबाट छानिने प्रावधान छ । विधानको भाग–२१ मा संसदीय दलसम्बन्धी व्यवस्था छ । त्यसको धारा ६६(८) को (क) मा संघीय निर्वाचनअगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फबाट छनोट भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोट हुने भनिएको छ ।