२० चैत, काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।
सत्तापक्षसँग संसद्मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
‘संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायीत्व सभामुखमा रहेको हुँदा संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित उम्मेदवारी नदिने निर्णय गरेका हौं,’ उनले भने ।
एमाले सांसद ऐन महरले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने बताए ।
‘विपक्षी कसैले उम्मेदवारी दिए समर्थन रहन्छ, यदि नभए एमाले नै उम्मेदवारी दिन्छ’,महरले रातोपाटीसँग भने, ‘एक बजेको सचिवालय बैठकले निर्णय गर्छ ।’ त्यस्तो अवस्थामा एमालेले उपाध्यक्ष गुरु बराललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्नेछ । अहिलेसम्म कांग्रेस लगायतले सभामुखबारे कसैसँग छलफल नभएको जनाएको छ । प्रवक्ता देवराज चालिसेले सभामुखमा उम्मेदवारी दिने नदिनेबारे कुनै छलफल नभएको प्रतिक्रिया दिए
सभामुख पदमा रास्वपाका छलफलबाट डोलप्रसाद अर्यालको उम्मेदवारी परिसकेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ सिट रहेको छ । रास्वपाको सुविधाजनक बहुमत भएकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।