विष्णु र शंकरले एमाले फुटाउनेसक्ने ओलीको विश्लेषण

Facebook
Twitter
WhatsApp

३१ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन हुन सक्ने विश्लेषण सुनाएका छन् ।

बागमती प्रदेशका नेताहरूलाई गुन्डु बोलाएर ओलीले विपक्षीको योजना बमोजिम उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फुटाउन सक्ने बताएका हुन् । शनिबार बागमती प्रदेशमा पार्टी पुनर्गठन कार्यदलले सुझाव लिने कार्यक्रम थियो ।

भक्तपुरको एक बैंक्वेटमा सुझाव संकलन कार्य सकिएपछि नेताहरूलाई गुन्डु बोलाइएको थियो । प्रदेश इन्चार्ज महेश बस्नेतले ओलीले भेट्न चाहेको सूचना सुझाव संकलन कार्यक्रममा दिएका थिए ।

‘प्रदेश इन्चार्जले दिएको सूचनाका आधारमा बागमतीका हामी केही नेताहरू गुन्डु पुगेका थियौं,’ गुन्डु पुगेका एक नेताले भने, ‘त्यहाँ पार्टी अध्यक्षले गम्भीर खुलासा गर्नुभयो ।’ उनका अनुसार ओलीले एमाले विभाजन हुन सक्ने विश्लेषण सुनाएका थिए ।

‘विष्णु पौडेल र शंकर पोखरेलले पार्टी विभाजनको नेतृत्व गरिरहनु भएको छ भन्ने उहाँको विश्लेषण थियो,’ उनी भन्छन्, ‘शंकरले पनि विष्णुकै कुरा मान्नुभयो भन्ने अध्यक्षको कुरा छ ।’

सुझाव संकलन कार्यक्रममा उपाध्यक्ष पौडेलले पुनर्गठनको पक्षमा बोलेका थिए । ‘एमाले जोगाउने हो भने पुनर्गठन जरुरी छ । त्यो हामीले गर्नुपर्छ,’ पौडेलले भनेका थिए ।

उपाध्यक्ष पौडेलको यही कुरा गुन्डु पुगेका नेताहरूले ओलीलाई सुनाएका थिए । काभ्रे एमालेका सचिव राजकुमार सापकोटा र बागमती प्रदेश सचिवालय सदस्य इन्द्र लामाले त ओलीसँग अब के गर्ने भनेरै जवाफ मागेका थिए ।

‘पार्टी पुनर्गठनको विरोध गर्नु भनेको पार्टीहित चाहने चेतना नहुनु हो भनेर विष्णु कमरेडले भन्नुभयो,’ लामाले ओलीसँग प्रश्न गरेका थिए, ‘बा ! हामी पार्टी विरोधी हौं त ? अब यो पार्टीमा हामी बस्नु नपर्ने भयो ?’

स्रोतका अनुसार यी दुई नेताको जवाफ दिने क्रममा ओलीले पुनर्गठन भन्नेहरूले चाहिँ एमाले छोडेर जान खोजेको बताएका थिए । ‘विपक्षीको योजना अनुसार उनीहरू एमाले विभाजन गर्ने चाहनामा छन्,’ ओलीले भनेका छन्, ‘केही मान्छेहरू फुटेर जान पनि सक्छन् ।’

आफ्नो चाहना विपरीत निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदल बनाएरै एमाले फुटाउने यात्रा शुरु गरेको ओलीको भनाइ थियो । ‘मैले यसो नगरौं भनेँ, तर उनीहरूले मानेनन्,’ ओलीले भनेका थिए, ‘बागमतीमा भइहाल्यो, अब अरुतिर नगर्दा राम्रो हुन्छ ।’

लामै बोलेका ओलीले विष्णु र शंकरप्रति चर्कै आक्रोश पोखेका थिए । ‘शंकर लोभी हुन्, विष्णु पापी हुन्,’ ओलीले भनेका थिए, ‘यिनीहरूले पार्टीमा संकट ल्याउन खोज्दैछन् ।’

शंकर पोखरेल भन्दा बढी विष्णु पौडेलसँग ओलीको आक्रोश थियो । ‘मलाई गिरफतार गरेर लैजाँदा एउटा स्टाटस पनि नलेख्ने, गलत भयो पनि नभन्ने,’ पौडेलप्रति ओलीको आक्रोश थियो ।

पौडेललाई धेरै सम्झाएको ओलीको ब्रिफिङ थियो । ‘मैले धेरै सम्झाएँ, एउटा स्टाटस त लेखिदेऊ भनेर,’ ओलीले भने, ‘उनले मानेनन् । स्टेटमेन्ट सकिँदैन भनेर स्टाटस लेखिदिनुस् भनेको थिएँ ।’

तर विष्णु पौडेल अलग हुन तयार हुने, तर स्टाटस लेख्न समेत तयार नहुने पक्षमा उभिएको ओलीले बताए ।

अर्का एक नेताका दाबी अनुसार सुझाव संकलन कार्यक्रममा बागमती प्रदेशका ९० प्रतिशत बढीले पुनर्गठनको पक्षमा बोलेका थिए । ‘एमाले जोगाउन पुनर्गठन गरेर जानुपर्छ भन्नेमा ९० प्रतिशत बढी नेताहरुले बोल्नुभयो,’ उनी भन्छन्, ‘गोकुल बाँस्कोटाले त केपी ओली र एमाले मध्ये एउटा मात्र रोज्नुपर्ने स्थिति आएको बताउनुभएको थियो ।’

उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेत बाहेक अरू पदाधिकारी पनि बाँस्कोटाकै निष्कर्षमा सहमत थिए । ‘एकप्रकारले हल नै पुनर्गठनको पक्षमा देखिएको छ,’ ती सहभागी नेता भन्छन् ।

पुनर्गठनको पक्षमा नेताहरू खुलेको देखेर उपाध्यक्ष पौडेलले आफ्नो उत्साह सामाजिक सञ्जाल फेसबुकमै लेखेका थिए । ‘…जडीबुटीमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका सम्बन्धमा सुझाव संकलन कार्यक्रम भव्यताका साथ सम्पन्न भयो,’ पौडेलले लेखेका छन्, ‘जरुर हामी कमरेडहरूले अपेक्षा गर्नु भए अनुरूप नै आम निर्वाचन–२०८२ को वस्तुनिष्ठ समीक्षा गर्न र नेकपा एमालेको गुमेको जनमत र प्रतिष्ठा पुनस्थापित हुनेगरी पार्टी पुनर्गठनको अभिभारा पूरा गर्न सक्षम हुनेछौं ।’

ओलीको अभिव्यक्तिप्रति संकेत गर्दै शंकर पोखरेलले आइतबार पार्टी रक्षाको विषयमा आफ्नो धारण सार्वजनिक गरेका छन् । ‘जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मानगर्दै जनसम्बन्ध सुदृढ गरौँ, किनकि जनता नै इतिहासका निर्माता हुन्’ उनले लेखेका छन् ।

स्रोतका अनुसार शनिबार काभ्रे एमालेका सचिव सापकोटा र प्रदेश सचिवालय सदस्य इन्द्र लामा सहित बागमतीका केही नेताहरुले भने ओली बिनाको एमाले सम्भव नहुने सुझाव दिएका थिए ।

यस्तो राय राख्नेमा दोलखा एमालेका जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, धादिङका कार्यबाहक अध्यक्ष अर्जुन श्रेष्ठ, प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेश सचिव बालकृष्ण देउजा, धादिङ एमालेका सचिव राधिका शाक्य र मकवानपुरका नेता रामेश्वर राना थिए । चितवन एमालेका अध्यक्ष कमल पाठकले मध्यमार्गी तर्क गरेका थिए ।

‘पार्टीभित्र पुनर्गठन गरेर जानुपर्छ भन्ने मत देखेपछि हतार हतार गुन्डु आउनु भनेर सूचना जारी गरियो,’ एक शीर्ष नेता भन्छन्, ‘त्यहाँ बोलाएर उहाँले कतिपय त भन्नै नहुने र आपत्तिजनक कुरा राख्नुभएछ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top